प्रधानसेनापति क्षत्रीको दाबी ‘देशलाई कदापि बिखण्डन हुन दिँदैनाैँ’

काठमाडौं, असार १३ ।
प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहले मुलुकलाई एकताको सुत्रमा बाँधे जस्तै नेपाली सेनालाई पनि संविधानले नै राष्ट्रिय एकता, सुरक्षा गर्ने जिम्मेवारी दिएको बताउँदै नेपाली सेनाले देशलाई कदापि बिखण्डन हुन नदिने दाबी गरेका छन् ।
राष्ट्रिय एकताका प्रतीक शाहको तस्वीर सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुर्याउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पालाई सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
रुक्माङ्गत कटवाल ट्रस्टले यस वर्षको वसन्त ऋतुमा पृथ्वीनारायणको तस्वीर, राष्ट्रिय झण्डा तथा नेपाली सेनाको झण्डा सगरमाथामा पुर्याएबापत आरोही शेर्पालाई सम्मान गरेको हो । ट्रस्टकातर्फबाट सम्मान गर्दै प्रधानसेनापति क्षत्रीले चुनौतीपूर्ण आरोहणको कीर्तिमानबाट नेपाललाई विश्वमा पहिचान गराउने आरोहीको महत्वपूर्ण भूमिकाको सराहना गरे ।
पूर्वप्रधानसेनापति एवं ट्रस्टका अध्यक्ष रुक्माङ्गत कटवालले नेपालको स्वतन्त्रता र अविभाज्यतालाई सूर्यचन्द्र रहेसम्म कायम गर्न सबै नागरिक लाग्नुपर्नेमा जोड दिएका छन् ।
सम्मानित आरोही शेर्पाले सगरमाथा आरोहणलाई व्यवस्थित गरी आरोहीको जीवन निर्वाह गर्ने आधार तय गर्न सरकारसमक्ष आग्रह गरे । शेर्पा सेफर्डस प्रालिकातर्फबाट शेर्पाले गत जेठ ६ गते सगरमाथाको चुचुरामा पुगेर तस्वीर र झण्डा फहराएका थिए । उनले योसहित १६ पटक सफल आरोहण गरिसकेका छन् ।
कार्यक्रममा हिउँचितुवाका नामले विश्वभर परिचित १० पटकसम्म बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही आङिता शेर्पालाई गिनिज बुक अफल वल्र्ड रेकर्डसको प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी प्रथम गुरुङ महिला सगरमाथा आरोही माया गुरुङ, प्रथम तामाङ महिला सगरमाथा आरोही कान्छी माया तामाङलगायत आरोहीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै साहसिक पर्वतारोहण गरी नेपालको नाम विश्वसामु चिनाउने कीर्तिमानी आरोही पेम्बा दोर्जे शेर्पा र शेर्पा सेफेर्डस प्रालिलाई ट्रस्ट एवं नेपाली सेनाकातर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया