प्रम देउवाद्वारा धान दिवसको अवसरमा शुभकामना सन्देश

काठमाडौं, असार १५ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज धान दिवसको अवसर पारेर नेपाली नागरिक तथा कृषक दाजुभाई, दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।
कृषि विकासमन्त्रीकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले आज शुभकामना सन्देश जारी गर्दै यस महोत्सवलाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्नामा हातेमालो गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गरे ।
धानबालीका विभिन्न पक्षलाई उजागर गर्दै यस वर्ष ‘दुई बाली धान खेतीको विस्तार, आर्थिक समृद्धिको आधार’ मूल नाराका साथ धानलाई राष्ट्रिय अर्थतन्त्रको आधारस्तम्भका रूपमा चिनाउन विभिन्न सरोकारवालाको समन्वय तथा सहकार्यमा चौधौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७४ मनाइँदैछ ।
आगामी केही वर्षमा धान, चामलमा आत्मनिर्भर हुने राष्ट्रिय सङ्कल्पलाई साकार पार्न कृषि विकास मन्त्रालयबाट धानबाली प्रबद्र्धनमा रणनीतिक प्रयासको आवश्यकता महशुस गरी दुई बाली धान खेतीका लागि चैत धान र बर्खे धान प्रबद्र्धनका प्रयाससमेत भइरहेको सन्देशमा उल्लेख छ ।
नेपालमा धानको आर्थिक, सामाजिक एवं सांस्कृतिक महत्व रहिआएको तथा हरेक सामाजिक एवं सांस्कतिक कार्यमा धानकै प्रधान्यता रहेको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया