एमालेकी नेतृ झाँक्री प्रहरीको फन्दामा, कांग्रेसले दिए दर्जन कार्यकर्ताविरुद्ध किटानी जाहेर

काठमाडौं, असार १५ ।
प्रमुख विपक्षी दल नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । गुल्मी मदाने गाउँपालिकाअन्तर्गत म्यालपोखरी मतदान केन्द्रमा मतदान सकिएपछि कांग्रेस प्रतिनिधिमाथी खुकुरी प्रहार भएपछि उनलाई नियन्त्रणमा लिइएको हो । नेपाली कांग्रेसले झाँक्रीसहित एक दर्जन एमाले नेता, कार्यकर्ताको नाममा किटानी जाहेरी दर्ता गराएको छ ।
इलाका प्रहरी कार्यालय पुर्कोट दहले उनलाई नियन्त्रणमा लिएको हो । नेपाली कांग्रेसका प्रतिनिधि हरेराम खत्रीसहित दुई जनामाथी एमाले कार्यकर्ताहरूले खुकुरी प्रहार गरेका हुन् ।
खत्रीको कञ्चटमा गहिरो चोट लागेको छ । कांग्रेस कार्यकर्ताहरूले झाँक्रीकै नेतृत्वमा खुकुरी प्रहार गर्ने जस्तो उश्रृंखल काम भएको आरोप लगाएका छन् । मतदान सकिएपछि घर फर्किंदै गरेका खत्रीमाथी एमाले कार्यकर्ताहरूले बाटो कुरेर खुकुरी हानेको कांग्रेसले आरोप लगाएको छ ।
एमालेले भने दुबै पक्षबीच भनाभन हुँदा स्थिति नियन्त्रणभन्दा बाहिर गएको बताएको छ । एमाले नेतृ झाँक्रीको कमाण्डमा रहेका एमाले युवाहरूले खुकुरी हानेको कांग्रेसले आरोप लगाएको छ ।
सोही कारणले गर्दा मदाने गाउँपालिकामा अहिलेसम्म पनि मतगणना सुरु हुन सकेको छैन । कांग्रेस कार्यकर्ताहरूले प्रहरीले समेत एमालेको पक्ष लिएर आफूहरूमाथी आक्रमण भएको आरोपसमेत लगाएका छन् ।
प्रतिक्रिया