वर्षको सबैभन्दा लामो दिन आज, मंगलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन

काठमाडाैं, जेठ २८ ।
ललितपुर महानगरपालिकाको मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन आज बुधबार सावर्जनिक रूपमा प्रदर्शनमा राखिएको छ ।
नेवार परम्पराअनुसार वर्षको सबैभन्दा लामो दिन बुधबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो ।
हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्याःपुन्हिका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिएका छन् ।
यस दिन पाटन दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि रहँदै आएको उनले बताए ।
सिंहासन प्रदर्शनसँगै सङ्गीत महोत्सव पनि आयोजना गरिएको छ । करिब ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पालादेखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रही आएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पारेका राग मल्हारसहित ३१ वटा राग कात्तिक नाच दबलीमा गाउने गरिन्छ । अरू दिन भने सिंहासन र पौभाः पाटन म्युजियम भित्र सुरक्षित तरिकाले राख्ने गरिएको अध्यक्ष चित्रकारले जानकारी दिएका छन् ।
प्रतिक्रिया