नवविवाहितले मनाउने मधुश्रावणी पर्व आजबाट सुरु

प्रकाशित मिति: ३० असार २०७४, शुक्रबार १४:५८


विराटनगर, असार ३० ।
नवविवाहिताले मनाउने मधुश्रावनी पर्व आजबाट सुरु भएको छ । विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवं सांस्कृतिक रूपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

पञ्चमी तिथिबाट सुरु भएको यस पर्वमा आज माटोको वा गाईको गोबरको कलात्मक ढङ्गले नाग, नागिन मूर्ति बनाएर विधिपूर्वक पूजाअर्चना गरी पर्वको शुभारम्भ गरिन्छ ।

यस तिथिलाई मौना पञ्चमी तिथि भन्ने गरिन्छ । यो पर्व मनाउनका लागि नवविवाहिताको ससुरालीबाट नयाँ बस्त्र, चामल लगायतका खानेकुराका साथै तेह्र दिनसम्म जारी रहने पूजाका लागि आवश्यक पर्ने सामग्री पठाउने परम्परा छ । माटोको नाग–नागिन पनि कोसेलीका रूपमा पठाउने गरिन्छ ।

तेह्र दिनको अवधिमा ससुरालीबाट आएका अन्न नै ग्रहण गर्नुपर्ने र नियम निष्ठाका साथ बस्नुपर्ने परम्परा पनि छ ।

दाम्पत्य जीवनमा आउने कठिनाइको समाधान कसरी गर्ने, वैवाहिक जीवनलाई कसरी सुखमय बनाउने, पतिव्रता नारी कसरी बन्नेलगायतका विषयमा विभिन्न देवी देउताको जीवनमा आएका सुःखद र दुःखद घटनाको सम्बन्धमा कथा वाचनको माध्यमबाट आफ्नो दाम्पत्य जीवनलाई सुखमय बनाउने उद्देश्यले नवविवाहितालाई प्रशिक्षण एवं तालिम प्रदान गर्नु नै यो पर्वको मुख्य उद्देश्य छ ।

प्रत्येक नवविवाहिताले गौंरीको पूजा गरी मधुश्रावणी पर्वको पूजाका कार्य विधिवत् रूपमा सुरु गर्छन् । सो अवसरमा यस पर्वका विभिन्न कथाको सम्बन्धमा जानकारी राख्ने महिलाले प्रत्येक दिन कम्तीमा एउटा कथा सुनाउने गर्छन् ।

टोलभरीका महिला एक स्थानमा जम्माभई ध्यानपूर्वक कथा श्रवण गर्ने र पूजाको अन्त्यमा धार्मिक एवं पर्वसँग जोडिएका गीत गाएर सो दिनको पूजा विसर्जन गरिन्छ ।

पहिलो दिन नाग–नागिन देवीदेउताको पूजा गरी शुभारम्भ गरेपछि दोश्रो दिन महादेवको मानस पुत्री बिहुलाको कथा, बिसहराको कथा,मङगला गौंरीको कथा र तेश्रो दिन पृथ्वीको जन्म र समुद्र मन्थन कथाका बारेमा जानकारी गराइन्छ ।

त्यसपछि, क्रमिक रूपमा सतीको कथा, पतिब्रताको कथा, महादेवको परिवारको कथा, गङ्गाकीे कथा, गौंरी अर्थात पार्वतीकी जन्म, तपस्या, र विवाह, गौंरीकी माता मैनाकी मोहभङ्गको सम्बन्धमा नवविवाहितालाई जानकारी गराइन्छ ।

त्यसैगरी, कात्तिक र गणेशको जन्म, सन्ध्याको विवाह र लिलीको जन्म, विवाह, पतिब्रता सुकन्याकीे कथा, बाल वसन्त, गोसाउनिकको कथा, राजा किरकको कथा र गणेशद्वारा सोहागको मन्थन र वितरणको सम्बन्धमा जानकारी गराइन्छ ।

मधुश्रावणी पर्वको अन्तिम दिन महिलालाई भोज खुवाउने परम्परा छ । यो भोजभतेर नवविवाहिताको ससुरालीको पक्षबाट गर्ने गरिन्छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....