सरसफाइको कमीले झाडापखालाका कारण एकको मृत्यु

कपिलवस्तु, भाद्र ४ ।
महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।
प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका–७ सत्भराका चैतराम रैदासका आठवर्षीय छोरा तारेखको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले बताएका छन् ।
गाउंँमा दूषित पानीको माछा खाएको, दूषित पानी पिएको र अन्य सरसफाइको कमी भएका कारण झाडापखालाको प्रकोप देखिएको बताइएको छ ।
प्रभावितमध्ये सामान्य अवस्थामा रहेकाहरूलाई गाउँमै स्वास्थ्यकर्मीको टोली पठाइएको र अलि जटिल देखिएकाहरूको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
पछिल्लो दुई दिनयता झाडापखालाको संक्रमणका कारण बान्ता हुन थालेको र सोही समस्याले समस्या बढेको शिवराज अस्पतालका कावा मेडिकल सुपरिटेण्डेण्ट डा. राहुल झाले बताए ।
जिल्लाका अन्य बाढी प्रभावित क्षेत्र र सरसफाइको कमी रहेका गाउँबस्तीमा प्रकोप फैलन सक्ने भएकाले पूर्वतयार रहन जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया