भारत भ्रमणका क्रममा देउवा र मोदीबीच आजै ‘वार्मअप’ भेट

काठमाडौं, भाद्र ६ ।
प्रधानमन्त्री शेरबहादुर देउवा पाँच दिने भारत भ्रमणका क्रममा बुधबार नयाँदिल्लीमा पुगेका छन् । उनी दिल्लीस्थित नेपाली दूताबासमा पुगेर प्रवासी नेपालीहरूलाई छोटो सम्बोधन गरे ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आजै ‘वार्मअप’ भेट हुने भएको छ भने बिहीबार विहानै राष्ट्रपति भवनमा गार्ड अफ अनरको सम्मान लिएपछि मात्र औपचारिक भेटवार्ताहरू सुरु हुनेछ ।
तर, त्यसअघि नै भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी देउवालाई ‘वार्मअप’ मिटिङको प्रस्ताव गरे ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भने, ‘बिहीबार औपचारिक छलफल हुन्छ । त्यो भन्दा अगाडि कसरी राजनीतिक तहबाट के गर्न सकिन्छ, चियामा यसो भेट गर्ने भन्ने छ ।’
उनले यसलाई ‘वार्मअप’ भेट भनेका छन् । देउवा र मोदीबीच भेटवार्ता हुने स्थान भने खुलाइएको छैन ।
प्रधानमन्त्री देउवा र मोदीबीच भोलि हैदराबाद हाउसमा ३० मिनेट वान टु वान भेटवार्ता गर्ने कार्य तालिका रहेको छ । त्यस्को लगतै दुई देशको प्रतिनिधिमण्डलबीच एकघन्टा वार्ता हुनेछ र केही सम्झौतामा हस्ताक्षर पनि हुनेछ ।
प्रतिक्रिया