शास्त्रीय संगीतमा युवालाई प्रेरित गर्दै ध्रुपद क्याराभान

काठमाडौं, भाद्र २५ ।
शास्त्रीय संगीतमा निरन्तर लागिपरेका युवा पुस्ताहरूलाई लक्षित गर्दै ‘बाँसुरी जुगलबन्दी’ कार्यक्रम फ्रान्सेली केन्द्रको सभागारमा शुक्रबार सम्पन्न भएको छ ।
संगीत रसिक श्रोताहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा नेपाल तथा जापानका कलाकारहरूले आ–आफ्नो कला प्रस्तुत गरेका थिए ।
जापानबाट आएका अनुभवी कलाकार हिरोशि नाकागावा र नेपालका युवा नगेन्द्र विक्रम राईको जुगलबन्दी रहेको उक्त कार्यक्रम मनमोहक रहेको थियो ।
राग किरवानीमा गरिएको आलापचारी, झपतालमा निबद्ध गत र द्रूत तीन तालको प्रस्तुतिले दर्शक श्रोतालाई थप आनन्दित बनाएको थियो ।
तबलामा संगत कलाकार मिलेश तण्डुकारले आफ्नो प्रस्तुति देखाएका थिए भने तानपुरामा विशाल भट्टराईले आधार दिएका थिए । आ–आफ्नो देशको लोकधुनसमेत बजाउन भ्याएका कलाकारहरूलाई बाँसुरीका गुरु जीवन आले तथा साहित्यकार रामकुमार पाँडेले पुष्पगुच्छा र खादाले सम्मान गरेका थिए ।
उक्त कार्यक्रमको आयोजना ध्रुपद क्याराभान समूहले गरेको थियो ।
प्रतिक्रिया