‘मिस लिटिल नेवाः’को ११ औँ संस्करण सुरु

काठमाडौं, भाद्र २५ ।
नेप्लिज फेशन होमद्वारा हरेक वर्ष आयोजना गरिँदै आएको ‘मिस लिटिल नेवाः’को ११ औँ संस्करण सुरु भएको छ । संस्थाकी अध्यक्ष हेमा मानन्धरले दिएको जानकारीअनुसार यसपटकको लिटिल नेवाःमा ७० जनाको सहभागिता रहेको छ भने त्यसमध्ये ४० जनालाई छनौट गरिने अध्यक्ष मानन्धरले जानकारी दिएकी छन् ।
यसपटकको लिटिल नेवाःमा सहभागिता जनाउन काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा र स्याङ्जालगायत स्थानबाट प्रतिस्पर्धीहरूले सहभागिता जनाएका छन् । मिस लिटिल नेवाःमा यसपटक पनि ९ वर्षदेखि १३ वर्षसम्मका बालिकाहरूले सहभागिता जनाएकी छन् ।
मिस लिटिल नेवाःमा सहभागी भएका प्रतिस्पर्धीहरूलाई मनोविज्ञानको विकास गर्नका निमित्त राजधानीलगायत बाहिरी जिल्लाको विभिन्न स्थानको भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना र भाषा उत्थानलगायत विभिन्न जानकारी र तालिमसमेत दिइने संस्थाले जनाएको छ ।
यसै क्रममा घटस्थापनाको दिन काठमाडौंको बसन्तपुरस्थित कुमारी घर प्राङ्गणमा कुमारीको दर्शन गर्नुका साथै सवा लाख बत्ती बाल्ने, विभिन्न तालिम दिनुका साथै नेवाः भोजको आयोजना गर्ने भएको छ । तालिममा मिस नेवाः सुनिता डंगोलले नेपालभाषाबारे जानकारी दिइने भएकी छन् भने कोरियोग्राफर रोहिया महर्जन र अध्यक्ष मानन्धरले सहभागीहरूको आत्मविश्वास बढ्ने किसिमका विभिन्न तालिम दिइने भएकी छन् ।
प्रतिक्रिया