‘छक्का पन्जा २’ को कथावस्तुमा कानुनी त्रुटि

प्रकाशित मिति: २३ आश्विन २०७४, सोमबार १८:४६


चितवन, असोज २३ ।
चर्चामा रहेको नेपाली कथानक चलचित्र छक्का पन्जा २ को कथावस्तुमा कानूनी रुपमा त्रुटि देखिएको भन्दै कानूनी व्यवसायीले प्रश्न उठाएका छन् । चलचित्रको कथावस्तुले अदालती प्रक्रियामा गर्नै नमिल्ने घटनाक्रमलाई प्रस्तुत गरेपछि कानून व्यवसायीले प्रश्न उठाएका हुन् ।

चलचित्र हेरेपछि अधिवक्ता रमेश काफ्लेले धेरैले रुचाएको यस चलचित्रमा अदालती प्रक्रिया त्रुटिपूर्ण रूपमा देखाइएको प्रतिक्रिया दिए । उनले भने, अदालतमा दायर भैसकेको सम्बन्ध विच्छेदको मुद्दालाई प्रहरीमा फर्काएर मिलापत्र गर्नु कानूनसम्मत हुँदैन । चलचित्रमा सम्बन्ध विच्छेदको मुद्दामा बहसपछि न्यायाधीशले प्रहरी नायब उपरीक्षकसँग छलफल गरेर एक महिनापछि पुनः हाजिर हुन निर्देशन दिइएको छ । अदालत नै नगइकन सो मुद्दा प्रहरीले मिलाएको चलचित्रमा देखाइएको छ । अधिवक्ता काफ्लेले भने, सँगै जोडिएको अर्काे सम्बन्ध विच्छेदको मुद्दालाई एक करोड ५० लाख रुपैयाँ दिएर होटलमा सम्बन्ध विच्छेद गराइएको छ जुन अदालतभित्रै गर्नुपर्ने कानूनी व्यवस्था छ ।

नेपालका अदालतहरूमा कुनै पनि मुद्दामा पक्ष र विपक्षले एकै पटक बहस नगर्ने भएपनि चलचित्रमा पक्ष र विपक्षलाई एकै पटक बहस गर्न लगाइएको छ । काफ्लेका अनुसार साक्षी प्रमाण बुझ्दा साक्षीलाई कठघरामा उभ्याउनु पर्ने प्रचलन नभए पनि चलचित्रमा भने धेरै साक्षीहरूलाई कठघरामा उभ्याइएको छ । भारतीय अदालतहरूमा हुने कतिपय अदालती प्रक्रियालाई चलचित्रमा देखाइएको छ ।

यस अतिरिक्त अष्ट्रेलियाले राहदानीका आधारमा नभई पत्रमा प्रवेशाज्ञा दिने भएपनि चलचित्रमा राहदानीमा प्रवेशाज्ञा हेरेको देखाइएको छ भने घुस खाएको देखाइएको भएपनि खान नहुने कुरा उल्लेख गरेको पाइँदैन ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सम्बन्ध विच्छेदको मुद्दाको कार्यक्षेत्र प्रहरी नभएर अदालत भएको बताए । अदालत गइसकेपछि त्यस्ता मुद्दा प्रहरीमा फर्काएर मिलापत्र गर्न नमिल्ने उनले बताए । अदालत बाहिर सम्बन्ध विच्छेद गराउन पनि नमिल्ने घिमिरेको दलील छ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार गेहेन्द्रराज पन्तका अनुसार सम्बन्ध विच्छेदका मुद्दा मिलाउने कार्यक्षेत्र प्रहरीको नरहेको बताए । त्यस्ता मुद्दा मेलमिलापकर्ता वा बेञ्चमै मिलापत्र गरिनुपर्छ । चित्त नबुझे उच्च अदालत जान सकिन्छ ।
अतिरिक्त प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी अदालत गइसकेको मुद्दा अदालतमै छिनोफानो हुने बताए ।
चलचित्र जाँच समिति (सेन्सर बोर्ड) का पूर्व सदस्य सन्दीप सापकोटा चलचित्रमा प्राविधिक रूपमा त्रुटि हुन नहुने बताए । समाजलाई सन्देश दिँदा सकारात्मक सन्देश दिनुपर्ने र प्राविधिक रूपमा त्रुटी भए त्यसले नकारात्मक सन्देश जाने उनको भनाइ छ ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले चलचित्रका कथावस्तुमा प्रस्तुत हुने विधि, कला, नियमका विषयमा सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग सुझाव लिएर चलचित्र निर्माण गर्न सके विवाद नआउने बताए ।

चलचित्र जाँच समितिका सदस्य विमला केसी छक्का पन्जा २ को जाँच गर्ने क्रममा आफैंले यो विषय उठान गरेको भएपनि समग्रमा यसको सन्देश सकारात्मक रहेकाले स्वीकृति दिएको बताए । स्पष्ट कार्यविधि नभएका कारण पनि यस्ता चलचित्र बन्ने गरेको उनले स्वीकारेका छन् ।

चलचित्र छक्का पन्जा २ का निर्माता दीपकराज गिरी कानुनी रूपमा उठेका केही कुरा सत्य भएको स्वीकार्दै चलचित्र शतप्रतिशत सत्यतामा आधारित रहेमा त्यो वृत्तचित्र हुने बताए । चलचित्रमा अदालतको अपहेलना नहोस् भन्ने विषयमा भने विशेष ख्याल गरिएको उनको भनाइ छ ।

चलचित्रमा न्यायाधीशले सम्बन्ध विच्छेदको मुद्दामा प्रहरी नायब उपरीक्षकसँग बृहत् छलफल गरेर एक महिनापछि पुनः आउन भनिए पनि चलचित्र एक महिनाको विषयवस्तु अगावै सकिएकाले यस्तो देखिएको गिरीले बताए ।

यस चलचित्रमा अध्ययनको नाममा विदेश जाने र उतै पलायन हुने प्रवृत्तिको भण्डाफोर गरिएको छ । एउटी चेलीले अष्ट्रेलिया जान परिवार छाडेर कागजी विवाह गरेसँगै निम्तिएको समस्यालाई चलचित्रले उजागर गरेको छ जसले आम युवा पुस्तालाई सकारात्मक सन्देश दिन खोजेको छ ।

कथानक चलचित्रमा नाटकीयपन हुने भएपनि यथार्थलाई जस्ताको तस्तै नदेखाइँदा भ्रम उत्पन्न हुन सक्ने देखिन्छ । यो चलचित्र धेरैले मन पराएकाले अदालती प्रक्रियामा भ्रम सिर्जना हुनसक्ने देखिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....