सुरेन्द्र महर्जन “अमर” को २३ औँ कृतिकाे रूपमा ‘स्माइल ड्रिम’ सार्वजनिक

प्रकाशित मिति: १७ माघ २०७६, शुक्रबार १७:३४


काठमाडाैं, माघ १७ ।
मान्छेभित्र रहर अनि चाहना हुनु ठूलो हो कथामा लामो विद्या उपन्यास हो ‘साहित्यमा सबैभन्दा बढी पढिने विधा भन्नुपर्दा उपन्यास हो । यस्तो सर्वाधिक लोकप्रिय विधाको कृति सार्वजनिक गरेर सुरेन्द्र महर्जन ‘अमर’ले पठन संस्कृतिलाई प्रोत्साहित गर्ने काम गरेका छन् ।’ कथा, कविता, गीत, हाइकु, तान्का, मुक्तक, उपन्यासलगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएका सुरेन्द्र महर्जन ‘अमर’को २३ औँ कृति एवम् चौथो उपन्यास ‘स्माइल ड्रिम’ को लोकार्पण समारोहमा प्रमुख अतिथीको आसनबाट बोल्दै वरिष्ठ गीतकार भुपाल राईले यी कुराहरू भनेका हुन् ।

तीन दशकभन्दा बढी समयदेखि साहित्यिक क्षेत्रमा समर्पित रहेका ‘अमर’ को सो उपन्यास बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको हो । समारोहका प्रमुख अतिथी राईले भने, ‘म राईको छोरो, हाम्रो आफ्नै बान्तवा भाषा छ । तर, म आफ्नै भाषा लेख्न जान्दिन । बहुप्रतिभाका धनी सुरेन्द्र महर्जन आफ्नो मातृ भाषामा पनि साहित्य सिर्जना गर्नुहुँदो रैछ । यो गर्वको विषय हो । थोरै काम गरेर धेरै हल्ला गर्नेहरूको भीडमा सुरेन्द्रजीलाई धेरै काम गरेर पनि हल्ला नगर्ने सर्जकको रूपमा मैले पाएँ ।’

कार्यक्रममा सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार श्रीविलास दाहाल, सङ्गीतकार सन्तोष श्रेष्ठ, समालोचक डा. धनप्रसाद सुवेदी, ओएस नेपालका विवेक कार्की, सर्जक सुरेन्द्र महर्जन ‘अमर’लगायतले उपन्यास ‘स्माइल ड्रिम’ को लोकर्पण गरेका हुन् । कार्यक्रममा ‘स्माइल ड्रिम’को अडियो पनि एकैसाथ विमोचन गरिएको थियो । अडियो उद्घाेषण राधिका घिमिरेले गरेकी छन् ।

ओएस नेपालको आयोजनामा सम्पन्न सो लोकार्पण कार्यक्रममा अतिथीहरूले उपन्यास सरल भाषामा लेखिएको र पठनीय रहेको विचार राखेका थिए । समालोचक डा. धनप्रसाद सुवेदीले उपन्यासको समीक्षात्मक टिप्पणी गर्दै भने, ‘म पात्र’ स्माइलले व्यक्त गरेको आफ्नो कथा नै उपन्यास हो । सानैमा बाबुआमा गुमाएर अनेक दु:ख हण्डर खाँदै राजधानीमा आएर सङ्घर्ष गरिरहेको कर्णालीको एउटा युवकको कथा उपन्यासले बोकेको छ । एउटी युवतीसँगको उसको प्रेम र त्यसपछि विरक्तिएको जीवन अनि शान्तिको खोजीमा ओशो आश्रमको शरण उपन्यासका मूल विषय हुन् ।’ डा. सुवेदीले उपन्यासको सबैभन्दा सबल पक्ष सरल र आकर्षक भाषा र शैली भएको बताए । कार्यक्रमको सहजीकरण पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले गरेका थिए । उपन्यास राईजिङ्ग क्रिएटिभ मिडिया (प्रा.) लि. भक्तपुरले प्रकाशन गरेको हो ।

‘अमर’ का यसअघि अनुष्का, मिस्ड कल र अद्भूत शीर्षकका तीन उपन्यास पाठकमाझ आइसकेका छन् । यसअघि चित्रकारिता, कविता सङ्ग्रह, गीति सङ्ग्रह, नेपालभाषा गीत सङ्ग्रह, हाइकु सङ्ग्रह, गीति एल्बम आदि विधाका गरी उनका २२ कृति सार्वजनिक भइसकेका छन् । यो उपन्यास सत्य घटनामा आधारित रहेको कुरा उपन्यासकार सुरेन्द्र महर्जन ‘अमर’ ले बताएका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क रूपमा पाउने सेवाको विवरण सार्वजनिक

काठमाडाैं, चैत २९ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त.....

देशभर आंशिक बदली, केही स्थानमा हल्का वर्षा

काठमाडाैं, चैत २९ । अहिले देशमा.....