आधा किलोसम्मको असिना परेपछि लाखौँको क्षति

महोत्तरी, बैशाख २२ ।
महोत्तरी जिल्लामा गएराति आधा किलोसम्मको असिना झरेसँगै भारी वर्षा भएको छ । तीव्र गतिको हावाहुरीसँगै सुरुमा सुक्खा ५० ग्रामदेखि पाँच सय ग्रामसम्मका असिना खसेको थियो ।
त्यसपछि भारी वर्षा भएका कारण जिल्लाका विभिन्न गाउँठाउँमा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सुक्खा असिना, हावाहुरी र वर्षाका कारण दर्जनौँ घरका छाना उडाएको छ भने कतिको घर, गोठ, पसलसमेत भत्काएको स्थानीय पीडितले बताएका छन् ।
त्यस्तै, उक्त जिल्लाका सयौँ हेक्टर जग्गामा स्थानीय किसानले लगाएको तरकारीबाली पनि असिना, हावाहुरी र वर्षाले नष्ट बनाएको पीडित किसानहरूले बताएका छन् ।
त्यसैगरी, तीव्रगतिका हावाहुरीका कारण जिल्लाका आधा दर्जनभन्दा बढी गाउँमा बिजुलीका पोल खसेर विद्युत अवरुद्ध भएको छ र सयौँ रूख ढलेर बाटोघाटो र बिजुलीका तारसहित कतिको घरबार समेत तोडफोड गरेको विद्युत प्राधिकरण जलेश्वर शाखाले जनाएको छ ।
भारी वर्षा कारण उक्त जिल्लाका मुख्य सडकहरू जलेश्वर–जनकपुर, जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड र जलेश्वर–रौजामा भइरहेको निर्माण कार्यमा निकै क्षति पु¥याएको छ । वर्षाका कारण ती सबै सडकखण्डमा भइरहेको माटोको काममा सडकभरि हिलैहिलो बनाएको छ भने खाल्डाखुल्डीमा पानी जमेर यातायातमासमेत समस्या उत्पन्न भएको थियो ।
यसअघि कहिल्यै पनि नदेखिएको यस्तो ठूल्ठूलो असिनाले बाटोमा हिँड्ने धेरैजसो यात्रुलाई चोटपटकसमेत पु¥याएको जनाएको छ ।
प्रतिक्रिया