आजदेखि जेठ ३ गतेसम्म मुग्लिन–नारायणगढ सडक खुल्ला रहने
चितवन, बैशाख २५ ।
यही बैशाख ३१ गते हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै चितवनको मुग्लिन–नारायणगढ सडक आयोजनाले आजदेखि उक्त सडकमा यातायात खुल्ला गर्ने भएको छ ।
हिजोसम्म उक्त सडकखण्डमा बिहान १० बजेदेखि ४ बजेसम्म ६ घन्टा यातायात बन्द गरेर निर्माण कार्य गरिँदै आएकोमा आजदेखि जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ ।
अहिलेसम्म उक्त सडकखण्डमा ४७ प्रतिशत काम पूरा भएको र समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको छ । उक्त सडकखण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा छ वटा निर्माण कम्पनीले अहिले काम गरिरहेको छ ।
उक्त सडक भएर दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले बताए । वर्षाका बेलामा भने यात्रुले सास्ती पाउँदै आएका छन् ।
प्रतिक्रिया