हाँस्य कलाकार मनाेज गजुरेल काेराेना भाइरसबाट संक्रमित

काठमाडाैं, कार्तिक ११ ।
हाँस्य कलाकार मनोज गजुरेल कोरोना भाइरसबाट संक्रमित भएको छ । उनले सोमबार सामाजिक सञ्जालमार्फत् कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै आफ्नो अवस्था सामान्य रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमामार्फत् भनेका छन्, भर्खरै प्राप्त रिपोर्टअनुसार, मेरो शरीरमा कोभिड–१९ ‘पोजेटिभ’ देखिएको छ । गत हप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहीबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महशुस गरेँ । त्यसपछि हिजो पीसीआर टेस्ट भयो । भर्खरै मात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो ।
बिहीबारदेखि नै आइसोलेसनमा छु । बाबु नानीहरूलाई कुनै सिम्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालनासहित घरेलु उपचारमा छौँ । मलाई अहिले गार्हो हुनेखालका सिम्टम्स छैनन् तर, पनि आफू र अरूको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तबासमा रहेको जानकारी गराउन चाहन्छु ।
संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ । आफू सचेत रहन, अरूलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिइ हालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ । म पनि जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रविन्द् समीरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा छु ।
मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारिरीक, मानसिक र आध्यात्मिक शक्तिभन्दा बलियो पक्कै छैन । त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली इम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरूको शुभकामनाले त मेराे शरीरको जित र भाइरसको हार झन् चाँडाे हुनेछ । धन्यबाद ।
प्रतिक्रिया