लपुमपा र भनपामा आज भाईटीका गरिँदै, काठमाडाैंमा भाेलि मनाइँदै, उत्तम साइत ११ः३७ मा

काठमाडाैं, मंसिर १ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन आज दाजुभाईले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको यो दिन आज भाईटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाईलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाईले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।
भाईटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि ११ बजेर ३७ मिनेट उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्ट दलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र निलो गरी पाँच वटा उल्लेख गरिएको समितिले जनाएको छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाईलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाईले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेकाे छ ।
प्रतिक्रिया