आजबाट न्हूदँ नेपाल सम्वत् ११४१ प्रारम्भ, न्हूदँया भिंतुना र्‍याली औपचारिकतामा मात्र सीमित

प्रकाशित मिति: १ मंसिर २०७७, सोमबार ११:२०


काठमाडौं, मंसिर १ ।
प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि त्यसको भोलिपल्ट नेपाल सम्वत् फेरिने गर्छ । जसअनुसार आजबाट नेपालको राष्ट्रिय सम्वत् न्हूदँ नेपाल सम्वत् ११४१ प्रारम्भ भएको छ । चन्द्रमानले कार्तिक शुक्लपक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल सम्वत् परिवर्तन हुन्छ । यो चन्द्रमानमा आधारित सम्वत् हो । यसर्थ यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक ३ वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ ।
देश–विदेशमा बस्ने नेवार समुदायले आफ्नो मौलिक सम्वतको नयाँ वर्ष (न्हूदँया भिंतुना) धुमधामसँग मनाउने गर्दछन् । यस दिन तिहारका अन्य दिनसरह राष्ट्रिय बिदा हुने गर्दछ । नेपालमा नेवारको बसोबास रहेका क्षेत्रहरू काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल बार्‍हबिसे, दोलखा, पाल्पा, चित्लाङलगायतका स्थानहरूमा भव्य कार्यक्रमको आयोजना गरी न्हूदँ नेपाल सम्वत् मनाउने गरिन्छ ।

यस दिन नेवार परम्परा र संस्कृति झल्कने भेषभूषा, बाजागाजा, नाचगान, भाषा, लिपि, खानपान आदिको संरक्षण एवं सम्बद्र्धनका कार्यक्रम गरिनुका साथै शुभकामना आदान–प्रदान गरी दिनभरी नाचगानका साथ गाउँ, टोल, शहर तथा सडकहरूमा विभिन्न झाँकी एवं र्‍याली निकाल्ने गरिन्छ । यसलाई नेपालभाषामा न्हूदँया भिंतुना भन्दछन् ।

नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः हुन् । युगपुरुष तथा संस्कृतिविद् डा. सत्यमोहन जोशीकाअनुसार राष्ट्रिय विभूति शंखधर साख्वाःले ईश्वी सन् ८८० तिर ऋणको मारमा परेका गरिब नेपाली जनताहरूको सबै प्रकारको ऋण चुक्ता गरिदिएका थिए । उनले सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको खुशियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवको आज्ञाले वि.सं. ९३७ देखि नेपाल सम्वत् स्थापना भएको इतिहास पाइन्छ । त्यो बेलादेखि सरकारी कामकाजको सम्वतका रूपमा चलेको नेपाल सम्वत् राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालासम्म कायम थियो ।

चन्द्रमास अनियमित रूपमा फेरिने र तीन–तीन वर्षमा १३ महिनाको लामो वर्ष पर्ने समस्या देखिएकाले वि.सं. १९६० देखि यसलाई परिवर्तन गरिएको हो । हाल सरकारी कामकाजको सम्वतका रूपमा नरहे पनि नेपालका प्रचलित पञ्चाङ्गहरूमा समान रूपले नेपाल सम्वत् उल्लेख गरिन्छ र यसलाई व्यावहारमासमेत प्रयोग गर्ने चलन अद्यापि रहेको छ । अन्त्यमा यो वर्ष विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण भिंतुना र्‍याली र कार्यक्रमहरू औपचारिकतामा मात्र सीमित गरी मनाइएको छ । नेपालको राष्ट्रिय सम्वत् न्हूदँ नेपाल सम्वत् ११४१ को अवसरमा सबै नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....