राताे मच्छिन्द्रनाथकाे रथजात्रा आज, यसपटक सांकेतिक रूपमा मात्रै सीमित

प्रकाशित मिति: १ जेष्ठ २०७८, शनिबार ११:५३


ललितपुर, जेठ १ ।
वर्षा, अन्न र सहकालकाे देउताकाे रूपमा परिचित रातो मच्छिन्द्रनाथको ‘सांकेतिक’ रथयात्रा आज हुने भएको छ । ललितपुरस्थित पुल्चोकमा आज दिउँसो साढे २ बजे उक्त रथजात्रा गरिने ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिएका छन् । उनकाअनुसार विश्वव्यापी महामारीकाे रूपमा फैलिरहेकाे कोरोना भाइरस संक्रमणको जोखिमका कारण यसपटक सांकेतिक रूपमा मात्रै रथजात्रा गरिने भएको हो । विगतमा जस्तो भीडभाडयुक्त पूर्ण रथजात्रा भने हुने छैन ।

बुधबार रथजात्रासम्बन्धी सरोकारवालाहरूको बैठक बसेर स्वास्थ्य मापदण्ड पालना गर्दै छानिएका निश्चित १ सय ५० जना जतिले मात्रै रथ तान्ने निर्णय गरिएको थियो । उक्त रथ करिब २५ मिटर मात्र तानेर त्यहीँ विसर्जन गर्ने तयारी भइरहेको छ । जात्रा नरोकियोस् भन्नका लागि सांकेतिक रूपमा संक्षिप्त विधिबाट उक्त रथजात्रा सम्पन्न गर्ने निर्णय गरिएको हो ।

गत वर्ष पनि कोरोना महामारीकै कारण विगतमा जस्तो रथजात्रा हुन सकेको थिएन । लामो समय रोकिएको गत वर्षको रथजात्रा ढिला गरी सम्पन्न गर्न खोज्दा विवाद र झडपसमेत भएको थियो । बैशाखमै हुनुपर्ने उक्त रथजात्रा गत वर्ष भाद्र २९ गते सम्पन्न गरिएकाे थियाे ।

करिब १ हजार ६ सय वर्ष अघिदेखि सुरु भएकाे मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा हरेक वर्ष बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ । सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्त्व रही आएको छ ।

पाटनको सबैभन्दा महत्त्वपूर्ण तथा विश्वकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा हिन्दु र बाैद्ध दुबै धर्मावलम्बीहरूले मनाउने गर्छन् । हिन्दु धर्मावलम्बी मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्ने गर्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....