हिरण्यवर्ण महाविहार तथा दिगी छेँमा क्षमा पूजा गरी पुनर्निर्माण सुरु
ललितपुर, श्रावण १५ ।
ललितपुरस्थित हिरण्यवर्ण महाविहार (गाेल्डेन टेम्पल) पुनर्स्थापना सुरु गर्नु पूर्व क्षमा माग्ने रितिअनुसार ललितपुरका स्थानीय समुदायले हिरण्यवर्ण महाविहार तथा दिगी छेँमा क्षमा पूजा गरेका छन् ।
काठमाडौंस्थित भारतीय राजदूताबास, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, नेपाल सरकार तथा इन्टाचका अधिकारीले उक्त पूजामा सहभागिता जनाएका थिए ।
१८ करोड १ लाख रुपैयाँको लागतमा उक्त महाविहारको पुनर्निर्माण सुरु हुन लागेको हो ।
सुनौलो मन्दिरको रूपमा परिचित हिरण्यवर्ण महाविहार युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत ललितपुरस्थित पाटन दरबार क्षेत्रको स्मारक क्षेत्रमा अवस्थित रहेकाे छ ।
यो मन्दिर पाटनका बौद्ध मन्दिर विहारहरूमध्ये सबैभन्दा महत्वपूर्ण विहार हो ।
भूकम्पले क्षति पुर्याएका नेपालका २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
यो परियोजना पनि ती २८ वटा परियोजनाभित्रकै एक भएको काठमाडौंस्थित भारतीय दूताबासले जनाएको छ । ललितपुर जिल्लामा ७ वटा सांस्कृतिक सम्पदा परियोजनाको पुनर्निर्माण हुन लागेको छ जसमध्ये ५ वटा परियोजनामा पुनर्निर्माण कार्य भइरहेको छ ।
प्रतिक्रिया