नवरात्रकाे दाेश्राे दिन, शक्तिपीठहरूमा माता भगवती ब्रम्हाचारिणीकाे विशेष पूजा अर्चना गरिँदै

काठमाडाैं, असाेज २२ ।
नेपालीहरूकाे महान् चाड बडा दशैँअन्तर्गत् आज नवरात्रको दोश्राे दिन, शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको विशेष पूजाअर्चना गरिँदै छ ।
ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रूपमा पूजा अर्चना गर्ने प्रचलन छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्मअनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ ।
सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणी देवीको अनुकम्पा आवश्यक हुने बताइएको छ । ब्रह्मचारिणी देवीलाई भक्तिको प्रतीक मानिन्छ ।
साधकहरू आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा ध्यान लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीका रूपमा ब्रह्मचारिणीलाई लिइन्छ ।
ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाहपूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ ।
पार्वतीको यो रूपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवी भागवतलगायतका ग्रन्थहरूमा उल्लेख छ ।
माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दु शास्त्रहरूमा छ । आज विवाह नभएका कुमारीहरूको पूजा गर्ने प्रचलन छ । कन्याहरूलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।
शास्त्रहरूमा ब्रह्मचारिणीलाई बदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ । देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।
महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।
नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोश्राे दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । यस्तै। तेश्राे दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ । छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ ।
आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा राधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् डा. रामचन्द्र गौतमले बताए । दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।
बडा दशैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पारायण पनि गरिन्छ ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरूमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरूको भीड लाग्ने गरेको छ ।
प्रतिक्रिया