बडा दशैँअन्तर्गत तेश्राे दिन आज चन्द्रघण्टा भगवतीकाे विशेष पूजा गरी मनाइँदै

प्रकाशित मिति: २३ आश्विन २०७८, शनिबार ०६:४१


काठमाडाैं, असाेज २३ ।
नेपालीहरूको महान् चाड बडा दशैँअन्तर्गत् नवरात्रको आज तेश्राे दिन चन्द्रघण्टा भगवती माताको विशेष पूजाअर्चना गरी मनाइँदै छ ।

हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन् ।

घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धिपश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा राखिन्छ । यसरी जमरा राखिएको स्थानकोनजिकै जलपूर्ण घडा (कलश)को वरिपरि ९ वटा देवीको स्वरूपको प्रतिमूर्ति मानी पूजा गरिन्छ ।

जसमध्ये तेश्राे दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजाआजा गरिन्छ ।

यसका अतिरिक्त कलशमा अष्टमङ्गलका शुभ चिन्हहरूद्वारा पूजित भएको पाइन्छ । यस दिन पनि सम्पूर्ण देवीदेवता, तीर्थ, पावनी नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दशैँ पूजा गरिएको हुन्छ ।

पूजा गरिसकेपछि प्रत्येक दिन बली चाहिँ अनिवार्य दिनुपर्ने कुरा शास्त्रीय विधानमा उल्लेख गरिएको छ । श्रौतयज्ञानुसार पशु बली र शाकाहारीहरूले प्रदान गर्ने नरिवल, ऊखु, कुभिण्डो आदि स्मार्तबली दुई प्रकारको हुन्छ ।

बली प्रदान गरिसकेपछि यस दिनको कार्य समापन गरिन्छ । जमराको रूपमा गहुँ तथा जौको अंकुर लगाउनाले सुख, शान्ति, समृद्धि र स्वास्थ्य लाभ हुने शास्त्रीय मान्यता छ । वनौषधिविज्ञहरूकाअनुसार जौका जमरालाई महौषधि भनिन्छ ।

निधारमा विजयादेवीको प्रसादस्वरूप टीका लगाएर जमरा शिरमा राख्यो भने शिरको पीडा, मानसिक अशान्तिबाट बच्न सकिन्छ । जमराबाट शीतलता एवं नुतनको प्रतीक हो । अंकुरित अन्नबाट भिटामिन, प्रोटिन, क्याल्सियम आदि प्राप्त हुन्छ । स्वास्थ्यको लागि अति उत्तम मानिन्छ ।

माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने गरिएको हो ।

नवरात्रका ९ दिनमा पहिलो दिन शैलपुत्री, दोश्राे दिन ब्रहृमचारिणी, तेश्राे दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।


प्रतिक्रिया


ताजा खबर

More

अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ

काठमाडाैं, चैत २८ । अन्ततः तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका.....