नबिल बैंकद्वारा नबिल एसएसई कार्यक्रमको दोश्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं, मंसिर ११ ।
सामाजिक उद्यमशीलता विकासको लागि नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे इजाजत पत्र प्राप्त संस्था नबिल बैंक लिमिटेडले सुरु गरेको ‘नबिल एसएसई’ (Nabil School of Social Entrepreneurship – Nabil SSE) कार्यक्रमले दोश्राे वार्षिकोत्सव मनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको उक्त कार्यक्रमले सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन् ।
दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागिता जनाएको नबिल बैंकले जनाएको छ । जसमध्येबाट ५२ वटा उद्यम जन्मँदा ८६९ जनाले रोजगारी पाएका छन् ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमको कारण सामाजिक वित्त प्रबर्द्धनमा बैंकको भूमिका थप बढेको बताए । ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रबर्द्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौँ,’ अध्यक्ष पौड्यालले भने । उनले जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले सामाजिक उद्यमीहरूलाई प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको जनाए । उनले यस कार्यक्रममा सहभागी हुने नबिल बैंकका कर्मचारी, विज्ञहरू, साझेदार तथा विद्यालय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए । ‘हामी दीगो बैंकिङ्ग र सामाजिक उद्यमशीलतामार्फत् हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छाैँ’ उनले भने ।
नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नको लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।
नबिल एसएसई फेलोहरूको सफलताका कथाहरू अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन् । यस कार्यक्रममा सहभागीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन् भने उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन् ।
यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आईसिटी अवार्ड २०२२ र स्टार्ट अप वर्ल्डकप जित्न सफल भएका छन् । महर्जनले नबिल एसएसई टोलीप्रति कृतज्ञता व्यक्त गर्दै भने, ‘कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत गर्यो ।’
यमबहादुर कार्की, दिव्या महर्जनलगायतले पनि उदाहरणीय काम गरेका छन् । उनीहरूले किसानहरूलाई सहयोग गर्ने प्रकारका कार्यक्रम र नवीन शैलीबाट सौन्दर्यका सामाग्री उत्पादनमा महत्त्वपूर्ण योगदान गरेका छन् ।
उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलतामार्फत् समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।
प्रतिक्रिया