लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थीहरू दीक्षित

काठमाडाैं, माघ १७ ।
सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबाट यो वर्ष १ सय ५० जना विद्यार्थीहरू दीक्षित भएका छन् । मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनसँग सहकार्य गर्दै आएको लर्ड बुद्धबाट एमएस्सी, एमबीए, बीबीएम र बिएस्सीमा १ सय ५० जना विद्यार्थीहरू दीक्षित भएका हुन् । काठमाडौंमा मङ्गलबार आयोजित कार्यक्रममा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनका अध्यक्ष पंकज जालान र एशिया प्यासिफिक युनिभर्सिटीका प्रमुख कार्यकारी अधिकृत दतुक परमजित सिंहले प्रमाण-पत्र हस्तान्तरण गरेका हुन् ।
सूचना प्रविधिसम्बन्धी सबैभन्दा पुरानो कलेजको २५ वर्षको इतिहास १३ हजारभन्दा बढी विद्यार्थीहरू दीक्षित भइसकेका छन् । एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनले मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्न पनि सफल भएको छ । सूचना प्रविधिसम्बन्धी सो विश्वविद्यालय मलेसियामा फाईभ स्टार र्याङ्क प्राप्त गर्ने पहिलो र विश्वका उत्कृष्ट विश्वविद्यालय मध्ये १६ औँ स्थानमा पर्न सफल भएको छ ।
लर्ड बुद्ध एजुकेशन फाउन्डेशनले नेपालमा पढ्दै कमाउँदै नीतिलाई व्यावहारिक कार्यान्वयन गर्दै लगेको अध्यक्ष जालानले बताए । प्रमाण-पत्र वितरण कार्यक्रममा अध्यक्ष जालानले भने, ‘लर्ड बुद्धबाट बाहिर निस्किएपछि प्रत्येक विद्यार्थीले आफू, परिवार र राज्यप्रतिको जिम्मेवारी थपिएको महशुस गर्नुहोला । स्वदेशमै प्रशस्त अवसर छ, सम्भावनाको ढोका पनि खोल्ने पनि आफैँले हो ।’
नेपालमा केही छैन भन्नेहरूका लागि अवसरै अवसरको देश हो भनेर देखाउनु पर्ने बेला आएको अध्यक्ष जालानले बताए । विदेशमा जानका लागि लाखौँ, करोडौँ रुपैयाँ खर्च गर्ने तर, त्यही रकम स्वदेशमा लगानी गर्न नसक्नु बिडम्बना भएको अध्यक्ष जालानको भनाई थियाे ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्श अध्यक्ष राजेन्द्र मल्लले विद्यार्थीहरूलाई पार्ट टाइम रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिए । शैक्षिक बेरोजगारीको सङ्ख्या बढ्दै जानु मुलुकका लागि दुर्भाग्य भएको अध्यक्ष मल्लको भनाई रहेकाे छ ।
प्रतिक्रिया