जेन कन्फेरेन्स १.० को आयोजना हुँदै

काठमाडाैं, माघ २२ ।
निमा एकेडेमी, एडचेञ्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्स (Hunch Complex) प्राङ्गणमा फागुन ३ र ४ गते Conference आयोजना हुने भएकाे छ ।
सम्मेलन विद्यालयलाई २१ औँ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने कुरा आयोजकले जानकारी दिएकाे छ । सम्मेलनमा २१ औँ शताब्दीका शीप तथा चुनौतीहरूसम्बन्धी छलफल र वर्कशप हुनुका साथै शिक्षालाई युग सुहाउँदो बनाउन विभिन्न सोच तथा शैक्षिक आयाममाथि छलफल केन्द्रित हुनेछ । प्रगतिशील विद्यालयको लागि आवश्यक पर्ने नेतृत्व विकास, शिक्षकको पेशागत विकास, आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनका मुख्य आकर्षण हुन् ।
सम्मेलनको घोषणा-पत्रमा २१ औँ शताब्दीका लागि चाहिने शीपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउनु पर्छ भन्ने कुरा उल्लेख गरिएको छ । उक्त सम्मेलनमा चार वटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने छ । यसमा १३ वटा कार्यशाला र ३६ वटा Paper Presentation हुनेछ ।
कार्यक्रममा प्रमुख वक्ताको रूपमा थाइल्याण्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एशाेसिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एशाेसिएट प्रोफेसर जीवन खड्का रहेका छन् । यस सम्मेलनमा सम्बन्धित क्षेत्रका विज्ञले विद्यालयमा प्रोग्रेसिभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यक्रममा नवीनता, शिक्षकको व्यावसायिक विकास, मूल्याङ्कन रणनीति जस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभवको प्रस्तुति दिने छन् ।
यस सम्मेलनमा गणित, कम्प्यूटर, विज्ञानलगायत सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कशपको डिजाइन गरिएको छ । वर्कशपमा Meditation Pedagogy, Gamification, परियोजनामा आधारित सिकाइ र कक्षा कोठामा प्रयोग गर्न प्रयोगात्मक शीपहरू सिकाइने छ ।
२१ औँ शताब्दीका लागि योग्य विद्यार्थी तयार पार्न शिक्षकलाई जेन कन्फेरेन्स उपयोगी हुने विश्वास गरिएको छ । यस सम्मेलन (Conference) मा विशेष गरी शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जो कोही पनि भाग लिन सक्ने छन् ।
सम्मेलनमा करिब २०० जना सहभागिता जनाउने अपेक्षा लिइएकाे एक प्रेस विज्ञप्ति जारी गरी जनाएकाे छ ।
प्रतिक्रिया