गुण्डागर्दी गरेको आरोपमा ललितपुरबाट दुई पक्राउ

काठमाडाैं, जेठ ७ ।
गुण्डागर्दी गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-४ घर भई हाल ललितपुर बस्ने २६ वर्षीय मिलन तामाङ र तेमाल गाउँपालिका-७ घर भई हाल भक्तपुर बस्ने २८ वर्षीय विजय लामा रहेका छन् ।
२०८० फागुन १७ गते उनीहरूले काठमाडौं-३२ कोटेश्वरस्थित केएलसी क्लब अगाडि राजन बरुवाललाई अङ्ग भङ्ग हुने गरी कुटपिट गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।
उनीहरू ललितपुर महानगरपालिका-१४ स्थित महालक्ष्मी स्थानबाट पक्राउ परेका हुन् । मिलन पटक-पटक अपराधमा संलग्न रहेको भेटिएको छ । उनीविरुद्ध २०७३ फागुनमा ललितपुर प्रहरीले जुवासम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्डमा भेटिएको छ ।
उनीविरुद्ध बानेश्वर प्रहरीले २०७४ पुसमा ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा चलाएको थियो । प्रहरी वृत्त महाराजगञ्जले उनीविरुद्ध अभद्र व्यावहार, गौशाला प्रहरीले अभद्र व्यावहार तथा डाँका चोरीसम्बन्धी कसुरमा मुद्दा चलाएको अपराध रेकर्डबाट देखिएको छ ।
प्रतिक्रिया