प्रहरीमाथि आक्रमण गरेकाे आराेपमा ६ जना विद्यार्थी पक्राउ
काठमाडाैं, जेठ २५ ।
मोरङको रंगेली नगरपालिकाका नगर रक्षक (नगर प्रहरी) माथि आक्रमण गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ ।
घटनामा संलग्न रंगेली-६ का २३ वर्षीय दिपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली-७ का १८ वर्षीय रमणकुमार राय, रंगेली-८ का १९ वर्षीय विषेक झा र रंगेली-२ का मिलन मिश्रलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।
पक्राउ परेकाहरूको समूहले आक्रमण गर्दा चार जना नगर प्रहरी घाइते भएका छन् । नगर प्रहरीहरू सुनिता पौडेल, प्रमोद पासवान, पदमबहादुर थापा र ज्योति घिमिरे सामान्य घाइते भएकाे बताउँदै डीएसपी बस्नेतले भने, ‘नगर प्रहरीहरूको शरीरका विभिन्न भागमा चोटपटक लागेको र रंगेली अस्पतालमै उपचार भइरहेको छ ।’
पक्राउ परेको समूहले नगरपालिकाका कार्यबाहक प्रमुख एवं रंगेली-८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यावहार गरेको बताउँदै डीएसपी बस्नेतले भने, ‘छ जनाको समूहले कार्यकक्षभित्रै प्रवेश गरेर आचार्य र न्यौपानेलाई दुर्व्यावहार एवं हातपात गर्दै नगर प्रहरीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ पक्राउ परेकाविरुद्ध अभद्र व्यावहार मुद्दा चलाइने उनले बताए ।
विद्यार्थी समूहले निजी विद्यालयहरूले आफू खुसी कानून विपरीत शुल्क लिइरहेको तथा शिक्षक छनोटमा मनपरी गर्दै विद्यालयमा आफ्ना मान्छेलाई नियुक्ति दिलाएकाे भन्दै जेठ १३ गते नगरपालिकाको कार्यालयमा ज्ञापन-पत्र बुझाएको थियो ।
निजी विद्यालयले लिँदै गरेको शुल्क कम हुनुपर्ने र शिक्षक नियुक्ति नियमानुसार हुनुपर्ने माग राख्दै आन्दोलन थालेको विद्यार्थी समूहको नेतृत्व विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको नेपाल विद्यार्थी संघका सदस्य दिपक यादवले गरेका थिए । रंगेली जनता बहुमुखी क्याम्पस र पब्लिक माध्यमिक विद्यालयका विद्यार्थीले बुधबार नगरपालिका अगाडि नाराबाजीसमेत गरेका थिए ।
यादवको नेतृत्वमा छ जना पुनः बिहीबार दिउँसो साढे ३ बजेतिर नगरपालिका पुगेर नाराबाजी गरे । त्यतिबेलै जबरजस्ती कार्यकक्षमा प्रवेश गरेर उनीहरूले कार्यबाहक प्रमुख र प्रमुख प्रशासकीयमाथि दुर्व्यावहार गरेको प्रहरीले जनाएको छ । रोक्न खोज्दा नगर प्रहरीलाई समेत आक्रमण गर्दै उनी कार्यकक्षमा प्रवेश गरेको बताइएको छ ।
प्रतिक्रिया