कांग्रेस सांसद् प्रदीप पौडेल र कामपा मेयर बालेनबीच भेटवार्ता

काठमाडाैं, जेठ ३१ ।
नेपाली कांग्रेसका सांसद् प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आज बिहीबार भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा कांग्रेस सांसद् पौडेलले बुधबार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर-५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले जानकारी दिएका छन् ।
भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तिनै तहका सरकार गम्भीर हुनुपर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए तापनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुईबीच छलफल भएको हो । बुधबार प्रतिनिधि सभामा पौडेलले लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबीच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलंकी धोबीखोला खण्ड निर्माण गरिहाल्नु पर्ने प्रस्ताव गरिएको छ ।
भेटमा पौडेल र बालेनबीच काठमाडौं महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरूका बारेमा पनि छलफल भएको थियो । टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर-५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि नेता पौडेलले जानकारि दिए ।
यसैबीच, काठमाडौं महानगरपालिका र क्षेत्र नम्बर-५ अन्तर्गत पर्ने सार्वजनिक जग्गाको अतिक्रमण रोक्दै त्यसलाई संरक्षण गर्दै सार्वजनिक हितका लागि प्रयोगमा ल्याउने विषयमा पनि दुईबीच छलफल भएको छ । ‘हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर-५ लाई थप सुविधा सम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,’ पौडेलले भने ।
प्रतिक्रिया