रास्वपा सभापति लामिछाने पक्राउपछि जिल्ला अधिवेशन स्थगित गरी विराेध कार्यक्रमकाे निर्देशन

काठमाडाैं, कार्तिक ३ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जिल्ला अधिवेशनहरू स्थगित गरिएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारीको रकम ठगीमा पक्राउ परेपछि रास्वपाले सबै जिल्ला अधिवेशन तत्काललाई स्थगित गर्न निर्देशन दिएको हो । गत बिहीबारदेखि मात्रै रास्वपाले जिल्ला भेला सुरु गरेको थियो ।
रास्वपाले विकसित राजनीतिक घटनाक्रमका कारण भन्दै जिल्ला अधिवेशन स्थगित गर्न सर्कुलर गर्दै पार्टी सभापति पक्राउको विरोध गर्न जिल्ला सदरमुकाम केन्द्रित विरोधका कार्यक्रम गर्न पनि निर्देशन दिएको छ ।
‘राजनीतिक प्रतिशोध साँधेर सरकारले दोषीलाई च्याप्ने निर्दोषलाई न्याक्ने गरी अराजनीतिक कदम चालेको विरोधमा भोलि देशैभर जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम आयोजना गर्नसमेत यसै सूचनामार्फत् अनुरोध गर्दछौँ,’ कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।
प्रहरीले जिल्ला अदालत कास्कीबाट अनुमति लिएर शुक्रबार लामिछानेलाई रास्वपाकै पार्टी कार्यालयबाट पक्राउ गरी राति नै पोखरा पुर्याइसकेको छ ।
लामिछानेमाथि सहकारीको रकम गोर्खा मिडिया नेटवर्क (प्रा.) लि.मा अपचलन गरेको आरोप लागेकाे छ । तर, रास्वपाले भने राजनीतिक प्रतिशोध साँध्न सभापति लामिछानेलाई पक्राउ गरिएको भन्दै यस कदमको डटेर विरोध गर्न आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया