स्कूल बसको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु
काठमाडौं, कार्तिक ६ ।
धनुषामा स्कूल बसको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनौजी गाउँपालिका-२ की ११ वर्षीया आरोही कुमारी मण्डल रहेकी धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।
उनकाअनुसार धनौजी गाउँपालिका-२ स्थित रामजानकी बोर्डिङ स्कूलमा पढ्ने आरोहीलाई आज मंगलबार बिहान १० बजेतिर बा. ३ प ९०६५ नम्बरको जनज्योति बोर्डिङ स्कूलको बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बालिकालाई ठक्कर दिएपछि स्थानीयले विद्यार्थीलाई बाहिर निकालेर बसमा आगजनीसमेत गरेका छन् ।
घटनास्थलमा एउटा साइकल देखिएको छ । बालिका साइकल चढेर स्कूलतर्फ जाँदै गर्दा पछाडिबाट बसले ठक्कर दिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया