भारतकाे विमान भिस्तारा एयरकाे विमानमा बम भएकाे हल्लापश्चात् नेपाली सेनाद्वारा अनुसन्धान
काठमाडाैं, कार्तिक ६ ।
भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा बम राखेको हल्लापश्चात् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाद्वारा त्यससम्बन्धी अनुसन्धान जारी राखेकाे छ ।
भारतको नयाँ दिल्लीबाट काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको भिस्ताराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले खोजी कार्य जारी राखेको हो ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीकाअनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विष्फाेटक पदार्थ निस्क्रिय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ भने यात्रुहरूलाई सुरक्षित तरिकाले खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए ।
भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बम भएको हल्ला भएपछि भिस्ताराको विमानको खानतलासी भइरहेको र अहिलेसम्म कुनै पनि त्यस्ताे शङ्कास्पद वस्तु भने फेला नपरेको जानकारी दिँदै अहिले विमानका यात्रुको ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ । लगेज र कार्गोको पनि चेक गरिने जनाएकाे छ ।
अहिले काठमाडौं विमानस्थलको उडान-अवतरण भने नरोकिएको सूचना अधिकारी भूलले बताए । उनले भने, “काठमाडौं विमानस्थलको उडान नियमित रूपमा नै सञ्चालन भइरहेको छ, बमको हल्ला रहेको भिस्ताराको विमाननजिक अन्य विमानलाई पार्किङ गर्न भने दिइएको छैन ।”
तर, अन्तिमसम्म सबै खाेजतलास गर्दा कुनै पनि शंकास्पद वस्तु नभेटिएकाे जनाएकाे छ ।
प्रतिक्रिया