काठमाडाैंबाट पारिवारिक भ्रमणमा गएकाे माइक्राे दुर्घटना, ११ घाइते, दुईकाे अवस्था गम्भीर (पूर्णविवरणसहित)
काठमाडाैं, कार्तिक ९ ।
काठमाडौंबाट गोरखाको मनकामनातर्फ जाँदै गरेको माइक्रो बस धादिङमा दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन् ।
पारिवारिक भ्रमणमा निस्किएका यात्रु बोकेको वागमती प्रदेश ०१-०३०-च ७६५९ नम्बरको विद्युतीय माइक्रो बस धादिङको थाक्रे गाउँपालिका-६ स्थित १० किलो भन्ने स्थानमा आज शुक्रबार दुर्घटनामा परेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठकाअनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ ।
घाइते सबैको महादेवबेँसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू एउटै परिवारको रहेको बताइएको छ । दुर्घटनाको कारण तथा यात्रुको ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमा चालक दोलखा, गौरीशंकर गाउँपालिका-३ बस्ने वर्ष ३० को गंगाबहादुर बस्नेत (टाउको र हातमा चोट, अवस्था सामान्य) रहेका छन् ।
यस्तै, माइक्रोमा सवार रामेछाप घर भई भक्तपुर, चागुनारायण नगरपालिका-१ बस्ने वर्ष ७० की केदारकुमारी श्रेण्ठ (कम्मरमा चोट, सामान्य), सोही स्थानका ४२ वर्षकी राधिका कटुवाल (करङमा चोट, अवस्था सामान्य), सोही स्थानका ४२ वर्षका कुमार कटुवाल (ढाड र छातीमा चोट, मध्यम), १२ वर्षका विवस कटुवाल (मुख, शरीर अन्य भागमा चोट, अवस्था सामान्य) रहेको धादिङ प्रहरीले जनाएको छ ।
यस्तै, १५ वर्षका सुरज श्रेष्ठ (शरीरको विभिन्न भागमा चोट, अवस्था सामान्य), १६ वर्षकी विनिता कटुवाल (बाहिरी चोट नभएको, अवस्था सामान्य), सोही स्थानका ३९ वर्षकी संगीता श्रेष्ठ (निधार र कम्मरमा चोट, अवस्था सामान्य), ४० वर्षकी नारनबहादुर श्रेष्ठ (टाउको र दाहिने हात तथा शरीरको विभिन्न भागमा चोट, मध्यम) रहेका छन् ।
सोही स्थानका १० वर्षका सुदीप श्रेष्ठ (दाहिने खुट्टा कम्मरमा चोट, (अवस्था सामान्य) र ४५ वर्षको नारायण दास श्रेष्ठ (निधार ढाड र टाउकोमा चोट, बोल्न सक्ने, मध्यम) रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया