पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिबीच मात्र हुन्छ : राष्ट्रपति भण्डारी

काठमाडौं, असार ३ ।
विदेश भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्ण प्रतिस्पर्धा समान रूपमा सक्षम व्यक्तिहरूबीच मात्र हुन सक्नेमा जोड दिएकी छन् ।
राष्ट्रपति भण्डारीले नेपाली राजनीतिमा अनुभव नभएका महिलालाई पूर्ण प्रतिस्पर्धामा भाग लिन लगाएको अवस्थामा भन्दा सकारात्मक विभेद्अन्तर्गत थोरै आरक्षण दिइएको अवस्थामा उनीहरूको राजनीतिक संलग्नतामा व्यापक सुधार भएको बताएकी छन् ।
संयुक्त राष्ट्र सङ्घका लागि स्थायी प्रतिनिधि दीपक धितालले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले शताब्दीयौँदेखि विभेद् गरिएका र अनुभव नभएका महिला तथा सक्षम र अनुभवी व्यक्तिबीच प्रतिस्पर्धा गर्नु उचित नहुनेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले वि.सं. २०४९ अगाडि स्थानीय निकायका करिब दुई लाख पदमध्ये केवल एक सय ३६ मा मात्र महिला विजयी भएको देखिएकामा विकेन्द्रीकरणअन्तर्गत निर्वाचनमा २० प्रतिशत महिलालाई उम्मेदवार बनाउनुपर्ने व्यवस्थाबाट ३६ हजार महिला विजयी भएको र थप चार हजार महिला मनोनित हुँदा करिब ४० हजार महिला राजनीतिक पदमा स्थापित भएको उदाहरण प्रस्तुत गरिन् । उनले यसरी नै अनुभवले खारिएर महिलामा राजनीतिक प्रतिस्पर्धात्मक क्षमता बढेको बताइन् ।
राष्ट्रपति भण्डारीले वर्तमान संविधानअन्तर्गत निर्वाचनमा महिला उम्मेदवारी ४० प्रतिशत अनिवार्य बनाउँदा र प्रमुख तथा उपप्रमुखमध्ये एक पदमा महिला उम्मेदवारी अनिवार्य बनाउँदा हालैको निर्वाचनबाट धेरै महिला उपप्रमुखमा निर्वाचित भएको बताउँदै अब उनीहरूले पनि न्यायाधीशसरह अधिकार प्राप्त गरेको उल्लेख गरिन् ।
उनले संसद्का लागि ३३ प्रतिशत स्थानमा महिला उम्मेदवारीको व्यवस्थाले ३३ प्रतिशत स्थानमै महिलाले विजय हासिल गरेको बताउँदै सभामुख र उपसभामुखमा एक पद तथा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पद महिलाले प्राप्त गर्दा उनीहरूलाई अनुभवी तथा व्यावहारिक बनाउने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले अब आर्थिक विकास गरी लोकतन्त्रको फाइदा जनतालाई उपलब्ध गराउनुपर्नेमा जोड दिँदै उनले प्रवासी नेपाली मुलुकको सद्भावना दूत भएको बताउँदै उनीहरूले जनस्तरका साथै सरकारी र कूटनीतिक स्तरमा समेत प्रभाव पार्नसक्ने र विदेशमा सिकिएको शीप स्वदेशमा उपयोग गर्न सकिने बताइन् ।
प्रतिक्रिया