संविधान संशोधन नभएसम्म राजपा निर्वाचनमा सहभागी नहुने :राजेन्द्र महतो

काठमाडौं, असार ३ ।
राष्ट्रिय जनता पार्टीले संविधान संशोधन नभएसम्म हुने स्थानीय तहको निर्वाचनमा भाग नलिने पुनः स्पष्ट पारेको छ ।
राजपाको मागअनुसार संविधान संशोधनलाई प्राथमिता दिन ठूला तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आग्रह गर्दै सो पार्टीले सरकार तराई/मधेसका जनताको मागप्रति गम्भीर हुन नसकेको आरोप लगाएको छ ।
राजपाका अध्यक्ष मण्डलका सदस्य एवं नेता राजेन्द्र महतोले आज एक साक्षात्कार कार्यक्रममा स्थानीय तहको असार १४ गते हुने निर्वाचनमा पार्टीले भाग नलिने जानकारी दिए । राजपाले प्रदेश नं–२ को निर्वाचन सार्न सरकारलाई कुनै आग्रह गरेको छैन भने ।
उनले भने संविधान संशोधन नभई हुने निर्वाचनमा हामी भाग लिदैँनौ, संविधानलाई वैधानिकता दिई आफ्नो खुट्टामा आफैँ बञ्जरो हान्ने काम गर्दैनौँ ।
नेता महतोले राजपाले आफ्नो माग संवैधानिक दायराबाट समाधान होस् भन्ने चाहेको चर्चा गर्दै गणतन्त्र स्थापनाका लागि मधेसी जनताले निर्वाह गरेको भूमिकालाई बिर्सन नहुनेमा पनि जोड दिए ।
प्रतिक्रिया