दार्जिलिङ उग्र : दुईको मृत्यु, टिभी च्यानल बन्द, सञ्चारकर्मीसमेत प्रहरीको निशानामा

दार्जिलिङ, असार ४ ।
पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जिलिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको ज्यान गएको छ ।
मोर्चाको आव्हानमा ‘चलो पातलेवाँस’ अभियानको दोश्रो दिन नारी मोर्चाले गरेको डण्डी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि कार्यकर्ता प्रहरीमाथी जाई लागेर ढुंगा प्रहार गरेका थिए । मोर्चा कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले दार्जिलिङको बिजनवारीनजिक गोली चलाउँदा दुई जनाको मृत्यु भएको हो । बिजनवारीका दली सुब्बा र लाक्पा शेर्पाको मृत्यु भएको मोर्चा नेत्री निरा शर्माले जानकारी दिएकी छन् ।
बंगाल प्रहरीले बिहानैदेखि नाराबाजीसहित दार्जिलिङ शहर प्रवेश गर्ने मोर्चाका कार्यकर्तालाई रोक्न विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । मोर्चा महासचिव रोशन गिरीले बंगाल प्रहरीले चार जनाको हत्या गरेको आरोप लगाए । आन्दोलन चर्किएपछि बंगाल सरकारले स्थानीय टेलिभिजन च्यानल बन्द गराएको छ । बंगाल सरकारले हिमाली, डीटीभीलगायत च्यानल बन्द गराएको हो ।
प्रहरीले पत्रकार विक्रम राईलाई गत राति पक्राउ गरेको छ । दार्जिलिङका सांसद् अम्बर राईका छोरा उनी एनडीटीभी, टीभी चौबिस घण्टासहितका सञ्चारमाध्यममा कार्यरत हुनुहुन्थ्यो । उनलाई मध्यरातमा गिरफ्तार गरेको बताइएको छ । उनी सेन्ट जोसेफ क्याम्पसका सहप्राध्यापकसमेत हुनुहुन्छ । मोर्चा कार्यकर्ताले गुम, बिजनवारी, लेबुङलगायत विभिन्न स्थानबाट र्याली निकालेका थिए ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ ।
प्रतिक्रिया