मतगणनास्थलमा राजनीतिक दलहरूबीच विवाद भएको भन्दै अबको मतगणनामा नयाँ योजना लागू

रुकुम, असार ८ ।
भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा राजनीतिक दलका कार्यकर्ताले मतपत्र च्यातेपछि अब निर्वाचन आयोगले नयाँ योजना ल्याएको छ । राजनीतिक दलहरूबीच मतगणनास्थलमा विवाद भएको भन्दै आयोगले नयाँ योजना ल्याएको हो ।
आयोगले आगामी दोश्रो चरणको निर्वाचनको मतगणना स्थलमा राजनैतिक दलका प्रतिनिधहरूलाई प्रतिबन्ध लगाउने गरी नयाँ योजना ल्याउने तयारी गरेको छ ।
अब हुने दोस्रो चरणको निर्वाचनको मतगणनामा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले मतपत्र नै छुन नपाउने गरी निर्वाचन आयोगले नयाँ योजना ल्याउन लागेको एक अधिकारीले बताएका छन् ।
रुकुम सदरमुकाम खलंगा पुगेका निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले अब मतगणनामा राजनैतिक दलका प्रतिनिधिहरूले मतपत्र छुन नपाउने गरी व्यवस्था गर्न लागेको बताएका छन् ।
जिल्लाको सरोकारवाला पक्षहरूसँगको छलफलका क्रममा आयुक्त पौडेलले भने, ‘कुनै पनि राजनीतिक दल अथवा दलका प्रतिनिधि र अन्य जो कोहीले पनि निर्वाचन आचारसंहिता उल्लंघन गर्न पाउँदैनन् । यदि उनीहरूले त्यसो गरेमा अपराध ठहरिने छ । अब दलका प्रतिनिधहरूलाई मतगणनास्थलबाट टाढै राखिनेछ ।’
यस्ता खालका घटनाहरू अब नदोहोरिउन भन्ने उद्धेश्यका साथ आयोगले नयाँ योजना ल्याउन लागको जनाएको छ ।
प्रतिक्रिया