उपराष्ट्रपति पुन चीन भ्रमण सकाएर आजै नेपाल फर्कने

काठमाडौं, असार २६ ।
छिमेकी चीनको भ्रमणमा गएका उपराष्ट्रपति नन्दबहादुर पुन अहिले चीनका विभिन्न क्षेत्रको घुमघाममा व्यस्त छन् । चीनले आयोजना गरेको ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’ सहभागि हुन असार २० गते चीन गएका उपराष्ट्रपतिले मेलालाई सम्बोधन र केही भेटघाट बाहेका अरु केही कार्यक्रम थिएनन् ।
केही दिन औपचारिक कार्यक्रममा औपचारिक पोशाक लगाएका उपराष्ट्रपति पुनले आफ्नो बाँकी समय भने चीनका विभिन्न स्थानमा घुमघामको लागि समय निकालेका छन् ।
उपराष्ट्रपतिले चिनियाँ जनवादी क्रान्तिको आधार इलाका सान्सी प्रान्तको यानानको भ्रमणको क्रममा उनले जनवादी क्रान्ति स्मृति संग्राहलय, क्रान्ति ताका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसि)को कार्यालय स्थल, सिपिसिको चर्चित सातौ बैठक स्थल र शीर्ष नेताहरूको निवास स्थलको भ्रमण गरेका थिए ।
त्यस अघि उनले लान्चाउमा रहेको तार उत्पादन कारखाना र वियर उत्पादन कारखानाको अवलोकन गरेका थिए भने पुनले कान्सु प्रान्तको योङजिङ काउन्टीमा रहेको पिङलिङ टेम्पलको समेत भ्रमण गरे ।
उपराष्ट्रपति पुनले साताव्यापी भ्रमण सकाएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया