स्वास्थ्य क्षेत्रमा भनसुन नगरौं : निवर्तमान स्वास्थ्य मन्त्री थापा

प्रकाशित मिति: २६ असार २०७४, सोमबार १८:२०


काठमाडौं, असार २६ ।
निवर्तमान स्वास्थ्य मन्त्री गगनकुमार थापाले चिकित्सा जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने अनुमति पाउने परीक्षामा भनसुन चल्न नहुने बताएको छ ।

भनसुनका आधारमा अदक्षलाई पास गराएर जनताको स्वास्थ्य माथि खेलबाड गर्न छुट दिन नहुने बताएका छन् ।

हालै भएको विशेषज्ञ चिकित्सकको नाम दर्ताको परिक्षामा फेल भएका ७० प्रतिशत चिकित्सकहरू मध्ये केहीले पास गराईदिन भन्दै आफुसँग भनसुन गरेपछि उनले भनसुनका आधारमा पास गराउन नहुने बताएका छन् ।

पाल्पाको मुना मेमोरियल ट्रष्टद्धारा वीर अस्पतालमा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले पुराना र अनुभवी चिकित्सकहरू रहेको बीर अस्पताललाई श्रोतसाधन सम्पन्न गराउन आफ्नो कार्यकालमा अस्पतालले मागेजती रकमको व्यवस्था गरिदिएको स्मरण गराएका थिए ।

बीर अस्पताललाई जनशक्ति र श्रोतसाधनले सुविधा सम्पन्न गराउन सरकारको सहयोगले मात्रै नभई मुना मेमोरियल ट्रष्ट जस्ता परोपकारी संस्थाहरूसँगको सहकार्य पनि आवश्यक रहेको बताएका छन् ।

अस्पतालले विश्वास कायम गर्न सकेमा मात्रै सहयोगीहरू आकर्षीत हुनसक्ने तर्फ अस्पताल व्यवस्थापनको उनले ध्यानाकर्षण गराए ।
कार्यक्रममा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. गणेश बहादुर गुरुङ र अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले निवर्तमान मन्त्री थापाको कार्यकालमा मागेजती बजेट पाएकाले विर अस्पतालमा धेरै सुधार भएको बताए । कतिपय कामहरू सम्पन्न हुन बाँकी भएकाले केहीसमयपछि मात्रै जनताले त्यसको अनुभुती गर्न पाउने दावी गरे ।

कार्यक्रममा पत्रकार ऋषी धमलाले ट्रष्टले अनुकरणीय तथा पुण्य कार्य गरेको र निवर्तमान मन्त्री थापाले आफ्नो कार्यकालमा जनताको मन थप जितेको भन्दै प्रशंसा गरेका थिए ।

पाल्पाको रामपुर नगरपालिका वडा नं. १० मा जन्मीनु भएकी मुना अधिकारी पौडेलले बीर अस्पतालमा लामो समय स्वास्थ्यकर्मीको रूपमा सेवा गरेका थिए । क्यान्सरका कारण उनको निधन भएपछि २०६८ सालमा उनकै नाममा स्थापना भएको ट्रष्टले उनकै चाहनाअनुसार स्वास्थ्य क्षेत्रमा परोपकारी काम गर्दै आईरहेको छ ।

ट्रष्टले उनको जन्मस्थान पाल्पा रामपुरमा झण्डै १५ लाखको लागतमा मुन स्मृति सामुदायीक भवन बनाइएको र त्यसमा अहिले नगरपालिकाको सहरी स्वास्थ्य क्लिनीक संचालन भईरहेको ट्रष्टका अध्यक्ष अमृत अधिकारीले जानकारी गराए । भवनको व्यवस्थापनको जिम्मा स्थानीय सृजना आमा समुहलाई दिइएको र उनले अध्ययन गरेको स्थानीय जनकल्याण उच्चमाविबाट प्रवेशिका परिक्षामा सर्वाधिक अंक ल्याउने छात्रालाई नगद पुरस्कार र एक जना उत्कृष्ट छात्रालाई सिएमए पढ्ने व्यवस्था गरिएको उनले बताए ।

ट्रष्टले आज अष्ट्रिया नेपाली समाजको सहयोगमा बीर अस्पतालका सबै शैैयालाई एक एक ओटा पुग्नेगरी तीन सय ७० थान विरामीले लगाउने पोशाक दिएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

विद्युत् प्राधिकरण हाल कठिन अवस्थामा गुज्रिरहेकाे कार्यकारी निर्देशक शाक्यकाे भनाई

काठमाडाैं, जेठ ३० । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले.....