स्व. भट्टराईको नेतृत्व सदैव सफल र प्रेरणादायी : प्रम देउवा

काठमाडौं, असार २८ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको बहुदलीय प्रजातन्त्र स्थापनामा पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको योगदान अतुलनीय रहेको बताएका छन् ।
‘संसदीय अध्ययन तथा विकास संस्थापना’ले मंगलबार आयोजना गरेको ‘कृष्णप्रसाद भट्टराई प्रबचनमाला’ कार्यक्रममा बोल्दै उनले प्रजातान्त्रिक आन्दोलनदेखि सत्याग्रहसम्ममा स्व. भट्टराईको नेतृत्व सदैव सफल एवं प्रेरणादायी रहेको उल्लेख गरे ।
आजीवन प्रजातन्त्रको लडाईं लडेका पूर्वप्रधानमन्त्री भट्टराईको बारेमा अझै धेरै कुरा खोज अनुसन्धान गर्न बाँकी रहेको धारणा राख्दै प्रधानमन्त्री देउवाले त्यस सम्बन्धमा आयोजक संस्थालाई आवश्यक कार्य गर्न आग्रह गरे ।
कार्यक्रममा संस्थापनाका अध्यक्ष एवं पूर्वसभामुख दमननाथ ढुङ्गानाले मुलुक र जनताका हितमा समर्पित नेतालाई सम्झने परम्परा बसाल्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै स्व. भट्टराईले राजनीति र नैतिकतालाई सँगसँगै लगेर उदाहरणीय काम गरेको स्मरण गरेका थिए ।
प्रतिक्रिया