संशोधन प्रस्तावलाई लिएर शीर्ष दल र राजपाबीच छलफल

काठमाडौं, असार २८ ।
प्रमुख राजनीतिक दलहरूले संविधान संशोधन प्रस्ताव पारित गर्न व्यवस्थापिका–संसद्मा भएका सबै दलसँग आवश्यक छलफल गर्ने जनाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेताको बैठकले संशोधन प्रस्ताव पारित गर्न सबै दलसँग थप छलफल गर्ने सहमति गरेको हो ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजपा नेपाललाई निर्वाचनमा सहभागी गराउनका लागि आवश्यक राजनीतिक वातावरण बनाउन थप पहल गर्ने सहमति भएको बताए ।
संविधान संशोधनका लागि आवश्यक दुई तिहाई बहुमत पुर्याउन थप कोशिस गर्ने र सबै पार्टीसँग सबैले कुरा गरेर संशोधन प्रस्ताव पारित गर्ने सहमति भएको उनले जानकारी दिए ।
राजपा नेपालले संविधान संशोधनसँगै जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, तराई मधेश आन्दोलनमा निधन भएकालाई शहीद घोषणा गर्नुपर्ने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता हुनुपर्ने, घाइतेलाई उपचार खर्च, क्षतिपूर्तिलगायतका माग गर्दै आएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बैठक सकारात्मक भएको जानकारी गराउँदै अब हुने सबै निर्वाचनमा राजपा नेपाललाई सहभागी गराउन आवश्यक वातावरण बनाउने विषयमा घनिभूत रूपमा छलफल भएको बताएका छन् ।
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले बैठकमा संविधान संशोधनलगायत आफ्ना मागका सम्बन्धमा सरकार गम्भीर रूपमा लागेको र केही दिन मै परिणाम आउने आश्वासन पाएको बताए ।
प्रतिक्रिया