घरजग्गा धनीले मात्र होइन अब बहाल वालाले पनि कर तिर्नुपर्ने : अध्यक्ष विजुक्छें

भक्तपुर, असार २९ ।
भक्तपुर नगरपालिकाको प्रथम नगरसभा आजबाट सुरु भएको छ । प्रथम नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गरेका हुन् ।
परिषद्को उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भक्तपुर नगर क्षेत्रमा बसोबास गर्ने स्थानीय घरजग्गा धनीले मात्रै नभई अब घर बहालमा बस्ने नागरिकले समेत कर तिर्नुपर्ने बताए । नगरपालिकाले यसरी कर संकलन गर्न सकेको अवस्थामा नगरपालिकाको मात्रै नभई राज्यकै आर्थिक समृद्धिमा सहयोग पुग्ने अध्यक्ष बिजुक्छेंले बताएका थिए ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको समयमा नेपाल मजदुर किसान पाटीले गरेका प्रतिबद्धता प्राथमिकताका आधारमा पुरा गर्दै जाने बताए ।
उनले शिक्षा स्वास्थ्य, खानेपानी तथा भुकम्प पछिको पुननिर्माणलाई प्राथमिकतामा राखेको बताउँदै नगरलाई पर्यटकिय क्षेत्र बनाउन पुर्वाधारको विकासमा जोड दिईएको बताए ।
कार्यक्रममा नगरपालिकाका उपमेयर रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । परिषद् आगामी ३१ गतेसम्म सञ्चालन हुने भएको छ ।
प्रतिक्रिया