कांग्रेसका पूर्व नेता एवं पूर्वमन्त्री जोशीको निधन, आजै अन्त्येष्टी गरिँदै

काठमाडौं, असार ३० ।
नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री रामहरी जोशीको शुक्रबार साँझ निधन भएको छ ।
दम र निमोनियाको उपचारमा रहनुभएका नेता जोशीको आज साँझ साढे ७ बजे ग्राण्डी अस्पतालमा निधन भएको उनका भतिजा विष्णु जोशीले जानकारी दिएका छन् । घरको शौचालयमा लडेर चोट लागेपछि उनलाई यहीँ असार २१ गते अस्पताल भर्ना गरिएको थियो । सर्लाही स्थायी घर भएका उनी ललितपुरको नख्खीपोटमा आफन्तका घरमा बस्दै आएका थिए ।
वि.सं. १९८३ मा सर्लाहीमा जन्मेका उनी नेपाली राजनीतिमा गान्धीवादी र समाजवादी नेताका रूपमा परिचित थिए । नेता जोशीको आज बिहान आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । कांग्रेसमा हालका नेतामध्ये सबैभन्दा पाका नेताका रूपमा रहनुभएका उनी अविवाहित हुनुहुन्छ ।
आजीवन पार्टी र प्रजातन्त्रका लागि लडी करिब नौ वर्ष कारागारमा पर्नुभएका उनी वि.सं. २०४८ सालको गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका थिए । कांग्रेसले नेता जोशीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया