नेपालले आतङ्कवादविरुद्ध सात कानून बनाउने तयारी हुँदै : गृहमन्त्री शर्मा

काठमाडौं, असार ३० ।
गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानूनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन् ।
श्रीलङ्काको कोलम्बोमा आयोजित दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरूको गृहमन्त्रीस्तरीय आठौँ बैठकलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार बढ्दै जाँदा राजनीति, सम्बन्धित संस्था र नेतृत्वमाथी समेत जनताको विश्वास गुम्ने बताउनुभएको उनको सचिवालयले जनाएको छ ।
उनले आतङ्कवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाई उत्पन्न भइरहेको टिप्पणी गरे । आतङ्कवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानून बनाउन लागेको जानकारी मन्त्री शर्माले बैठकमा दिएका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्न पुनरावलोकन समिति समेत गठन भएको बताउँदै उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अगाडि बढेको जानकारी गराए । अहिलेको विकास र समृद्धिको दिशामा विद्युतीय अपराध ठूलो चुनौती बनिरहेको गृहमन्त्री शर्माको भनाई थियो । दुई दिने कार्यक्रममा सहभागी भई गृहमन्त्री शर्मा, मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दीपक काफ्ले आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया