पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने अध्यक्ष थापाको भनाई

काठमाडौं, असार ३० ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा आफ्नो दलभित्र विवाद देखिए पनि पार्टीको आधिकारिक निर्णय सबैले मान्नुपर्ने बताएको छ ।
काठमाडौं उपत्यकाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रस्तावमा पार्टीले यसअघि गरेको निर्णयलाई संस्थागत रूपमा कार्यान्वयन गर्नुपर्ने र सरकारमा सहभागिताको विषयमा उचित समयमा निर्णय गरिने बताएका छन् ।
अध्यक्ष थापाले स्थानीय तहको चुनावमा पार्टीले अपेक्षाकृतरूपमा सफलता प्राप्त गर्न नसक्नुका कारणमा विभिन्न शक्तिबाट पार्टीको वैचारिक नीतिमा भ्रम छर्ने कार्य भएकोमा चिन्ता व्यक्त गरे ।
पार्टीका महामन्त्री राजेन्द्र लिङ्देनले पार्टीभित्र अवसरवादीको सक्रियता बढेकाले अहिले आन्तरिक एकतामा केही चुनौती देखिएको बताउँदै यसतर्फ सबैले चनाखो भई अगाडि बढ्नुपर्ने बताए ।
पार्टीका अर्का नेता राजाराम श्रेष्ठले राप्रपाले स्थानीय तहमा पार्टीको आदर्शलाई पुर्याउन नसकेकाले चुनावमा राम्रो परिणाम आउन नसकेको बताउँदै अब स्थानीय जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया