जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउन माओवादी नेताहरूको माग

काठमाडौं, श्रावण ४ ।
नेकपा (माओवादी केन्द्र)का नेताहरूले जम्बो केन्द्रीय समिति भंग गरी संगठनलाई चुस्त दुरुस्त बनाउनका लागि माग गरेका छन् ।
विस्तार हुन नसकेको तथा जनतामा जान नसकिएको भन्दै नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकमा तत्काल सुधारको प्रक्रिया थाल्न नेताहरूले पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी केन्द्रीय सचिवालयको विस्तारित बैठकमा उनीहरूले स्थानीय तहको संगठन सुधार नै सबैभन्दा प्रमुख हतियार रहेको धारणा राख्दै चुस्त र दुरुस्त सांगठनिक संरचना तयार पार्न नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसक्नुको पछाडि आन्तरिक तयारीको अभाव, प्रभावकारी रूपमा नेता तथा कार्यकर्ता परिचालनमा देखिएको समस्या तथा गुटगत मानसिकताले पनि काम गरेको उनीहरूको भनाई छ ।
बैठकमा उनीहरूले संगठन बिनाको जम्बो केन्द्रीय समितिले काम गर्नै नसक्ने भन्दै चुस्त संगठन निर्माण गर्न, सबै तहका नेता तथा कार्यकर्ता एक तह घटेर काम गर्न तयार हुनुपर्नेमा जोड दिएका थिए ।
निर्वाचनको अनुभवको अभाव, विपक्षी पार्टीले गरेको गलत प्रचारको खण्डन गर्न नसक्नु, आर्थिक श्रोतको अभाव तथा सरकारमा बसेर गरेका प्रभावकारी काम जनताका बीचमा जान नसक्नु जस्ता कारणले पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको उनीहरूको टिप्पणी थियो ।
सोमबार अध्यक्ष पुष्पकमल दाहालले धारणा राखेर सुरु भएको बैठकमा सात वटै प्रदेशका इञ्चार्जले आ–आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए ।
स्थानीय तहको निर्वाचन समीक्षा, भावी चुनावी रणनीति र सांगठनिक विषयमा छलफल गर्न बोलाइएको उक्त बैठक आज पुनः बिहान ११ बजे बस्नेछ ।
प्रतिक्रिया