लगानीमैत्री वातावरण बनाउन प्रमुखलाई प्रम देउवाको निर्देशन

काठमाडौं, श्रावण ६ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षण गर्ने गरी सहजीकरण गर्न विभिन्न मन्त्रालयका सचिव र विभागका प्रमुखलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो अध्यक्षतामा बिहीबार बसेको ‘विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने विषय’ को बैठकमा उनले नयाँ आयोजनालाई सरकारका निकायले सहयोगात्मक भूमिका खेल्नुपर्नेमा जोड दिँदै भने, “हामीले अब आर्थिक विकासलाई मुख्य एजेण्डा बनाएर अघि बढ्नुपर्छ” उनले भने, “त्यसको लागि लगानीमैत्री वातावरण बनाउने गरी तपाईँहरू सबैले सहयोगात्मक भूमिका खेल्नुहोस् ।”
प्रधानमन्त्रीले कतिपय तीन चार वर्षमा सजिलै सम्पन्न गर्न सकिने आयोजना पनि सरकारी झन्झटका कारण दशक लाग्ने गरेको छ भन्दै त्यसमा सहजीकरणका लागि ऐन संशोधन गर्न सरकार तयार रहेको बताए । “तपाईँहरूलाई काम गर्न ऐन कानूनले छेकेको छ भने संशोधन गरौँ’ प्रधानमन्त्री देउवाले भने, “तर, आयोजनाहरूको गति अब बढाउनुपर्यो ।”
प्रधानमन्त्रीले जलश्रोतबाट लाभ लिएर मुलुकको आर्थिक वृद्धि उच्च राख्न सकिने धारणा राख्दै सोहीअनुसारको नीति बनाउन पनि निर्देशन दिएका छन् । “जलश्रोतको धनी हाम्रो मुलुकमा बिजुली बेचेर पनि आर्थिक वृद्धि गर्न सकिन्छ” उनले भने, “त्यसैले बिजुली उत्पादनमा सरकारले लगानीकर्ता मैत्री ऐन/कानून र वातावरण पनि बनाउनुपर्छ ।”
बैठकले लगानी बोर्डले ल्याएको लगानीकर्तालाई उपलब्ध गराइने जमिनसम्बन्धी कार्यविधि संशोधन गर्न १५ दिनभित्र मन्त्रिपरिषद्मा पेश गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया