डा. केसीले आज सत्याग्रह सुरु गर्दै, कारण यस्तो छ

काठमाडौं, श्रावण ९ ।
सरकारसँग यसअघि भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै आईओएमका प्रा.डा. गोविन्द केसीले पुनः अनशन बस्ने भएका छन् । आज दिउँसो सत्याग्रह सुरु गर्ने बताउँदै उनले भने, ‘मसँग यसअघि भएका सम्झौता कार्यान्वयन भएनन्, त्यसैले पुनः सत्याग्रह सुरु गर्दैछु ।’
चिकित्सा शिक्षाको सुधारका लागि बारम्बार सरकारको ध्यानाकर्षण गरे तापनि सुनुवाई नभएको भन्दै पुनः अनशन बस्न लागेको उनले बताए । यसअघि माग पूरा गर्न असार ३१ गतेको अल्टिमेटम दिए पनि पूरा नभएकाले अनशनको घोषणा गरेकोे डा. केसीको भनाई छ । डा. केसीले तत्काल माथेमा प्रतिवेदन अनुरूप आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने माग पहिलो नम्बरमा राखेका छन् ।
यसैगरी, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा तत्काल डीनको सिफारिशअनुसार सहायक डीन र क्याम्पस प्रमुख नियुक्त गर्नुपर्ने उनको माग रहेको छ ।
डा. केसीले सरकार र अदालतको आदेश नटेर्ने मेडिकल कलेजको सम्बन्धन खारेज गर्न, आईओएमका अधिकार खोस्ने पदाधिकारीलाई बर्खास्त गर्न पनि माग गरेका छन् । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी यसअघि १० पटक अनसन बसी सकेका छन् ।
प्रतिक्रिया