मन्त्रिपरिषद् विस्तार आज, को–को हुँदैछन् मन्त्री ?

प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार १२:०४


काठमाडौं, श्रावण १० ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमिति बैठक सोमबार नसकिएका कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आज गर्ने जनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारमा धेरै ढिलाई भएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना गरेपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने वचन दिएका थिए ।

माओवादी केन्द्रले मन्त्रिपरिषद्मा जानेको नाम टुंगो लगाए पनि कांग्रेसमा भने अझै टुंगो लाग्न सकेको छैन । कांग्रेसभित्रै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ५, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र नेता खुमबहादुर खड्का पक्षबाट एक–एक जना भागबन्डाका आधारमा मन्त्री बनाउने तयारी देउवाको छ ।

पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, सरिता प्रसाईं, कमला पन्तलगायतको नाम चर्चा रहेका छन् । यसअघि मन्त्री र राज्यमन्त्री भइसकेकालाई दोर्होयाउन नहुने दबाब पौडेल पक्षमा छ ।

सिटौला पक्षबाट भीमसेनदास प्रधान र खड्का पक्षबाट मोहनबहादुर बस्नेतलाई मन्त्रीमा पठाउने तयारी छ । प्रधानमन्त्री देउवालाई आफ्नै समूहबाट मन्त्री छान्न धौ–धौ परेको छ । मन्त्री बनाउनेहरूमा समावेशी र भौगोलिक सन्तुलन मिलाउन पार्टीभित्रैबाट देउवालाई तीव्र दबाब छ । देउवा पक्षबाट भरत शाह, मीन विश्वकर्मा, अम्बिका बस्नेत, भीष्म आङदम्बे, अर्जुन जोशीलगायतको नाम चर्चामा छ ।

माओवादीले मन्त्रीको नाम टुंगो लागए पनि सार्वजनिक गरेको छैन । स्रोतका अनुसार माओवादी केन्द्रबाट गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतको नाम मन्त्रीको लिस्टमा समावेश भएको चर्चा छ ।

फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।

कांग्रेसबाट दश, माओवादी केन्द्रबाट ६ र लोकतान्त्रिक फोरमबाट दुई समेत गरी सोमबार १८ मन्त्री थप गर्ने तयारी देउवाले गरेका थिए । कान्तिपुर दैनिक


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....