पार्टी भित्रको विवादका कारण घोषित मन्त्रिपरिषद् विस्तार स्थगित

काठमाडौं, श्रावण १० ।
मन्त्रिपरिषद् विस्तारकै लागि आन्तरिक छलफलमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवा अन्ततः मन्त्रिपरिषद् विस्तार गर्न असफल बनेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र खुमबहादर खड्का पक्षबाट मन्त्री बनाउन देउवा बिहानैदेखि छलफलमा व्यस्त रहेका थिए ।
अन्तिम समयमा आएर कुरा नमिलेपछि मन्त्रिपरिषद् विस्तार भोलिका लागि सारिएको छ । भोलि कांग्रेसबाट नौ, नेकपा माओवादी केन्द्रबाट छ, नेपाल लोकतान्त्रिक फोरमबाट दुई र नेकपा संयुक्तबाट एक जना मन्त्री बन्नेछन् । श्रोतकाअनुसार कांग्रेसबाट सभापति देउवा पक्षका मीनबहादुर विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी, अम्बिका बस्नेत र पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजन केसी, सरिता प्रसाईँ र कमला पन्त मन्त्री बन्ने भएका छन् ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान र खुमबहादुर खड्का पक्षबाट मोहनबहादुर बस्नेत मन्त्री बन्ने सम्भावना रहेको छ । माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपाली, श्याम श्रेष्ठलगायत मन्त्री बन्ने चर्चा छ ।
आज अपरान्ह ५ बजेका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले राष्ट्रपति कार्यालयमा नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह आयोजना गर्न औपचारिक जानकारी गराए पनि मन्त्रालय भागबण्डामा कांग्रेसका दुई गुटबीच विवाद श्रृजना भएपछि शपथ ग्रहण स्थगित हुन पुगेको हो । मुख्य सचिवले मन्त्रिपरिषद् विस्तार र नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि आज ५ बजेको समय राष्ट्रपति कार्यालयसँग माग गरेका थिए ।
सोहीअनुसार राष्ट्रपति कार्यालयले ५ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहणका लागि सबै कार्यक्रमको तयारी पूरा गरिसकेको थियो ।
प्रतिक्रिया