चीन भ्रमणमा रहेका अध्यक्ष ओलीबाट तिब्बतको सिगात्से निरीक्षण

प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार ०६:४८


काठमाडौं, श्रावण ११ ।
छिमेकी मुलुक चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले त्यहाँको सिगात्से र आली प्रिफेक्चरको निरीक्षण गरेका छन् ।

अध्यक्ष ओली ल्हासाबाट रेलमार्गमार्फत सिगात्से प्रस्थान गरेका थिए । अध्यक्ष ओलीसँग सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी चाङ याङछिङबीच भेटघाट गरेका छन् ।

चाङले तिब्बत सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको, नेपालको विनाशकारी भूकम्पबाट अवरुद्ध खासा नाका क्षेत्र खुलाउन अध्ययन भइरहेको र रसुवागढी नाकामा चीनतर्फ पूर्वाधार विकासको कार्य भइरहेको अवगत गराए । उनले किमाथांका–चेन्ता नाका क्षेत्रमा समेत चीनतर्फ द्रूत गतिमा पूर्वाधार विकास भइरहेको जानकारी गराए ।

अध्यक्ष ओलीले आफू सन् २०१६ मा प्रधानमन्त्रीका रूपमा चीनको औपचारिक भ्रमणका समयमा दुई देशको हितका लागि विभिन्न सम्झौता र सहमति भएको उल्लेख गर्दै ती सम्झौता तथा सहमति कार्यान्वयन गर्न तिब्बत सरकार तथा सिगात्से प्रिफेक्चर सरकारको समेत पूर्ण सहयोग हुने विश्वास व्यक्त गरे ।

तिब्बत र नेपालबीचको ऐतिहासिक, भौगोलिक, व्यापारिक, धार्मिक, सांस्कृतिक सम्बन्धको उल्लेख गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध र सहयोग थप सुदृढीकरण हुने र चीनको ‘वान वेल्ट वान रोड’ अवधारणाबाट नेपालले फाइदा लिन चाहेको ओलीले बताए ।

यहीँ श्रावण ७ गते काठमाडौंबाट ल्हासा प्रस्थान गरेका पूर्वप्रधानमन्त्री ओलीलाई ल्हासाको गोंगर विमानस्थलमा तिब्बत सरकारका सहायक अध्यक्ष महामहिम लो मई, तिब्बत जनकांग्रेसका उपाध्यक्ष महामहिम चु च्यानह्वा तथा नेपाली महाबाणिज्य दूताबास, ल्हासाका महाबाणिज्यदूतलगायतले स्वागत गरेका थिए ।

सोही दिन उनको सम्मानमा ल्हासास्थित सांग्रिला होटलमा तिब्बत जनसरकारका अध्यक्ष महामहिम छिले रात्रीभोजको आयोजना गरेका थिए ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठकाअनुसार भ्रमणको चौथो दिन मंगलबार उनी तिब्बतको आलीबाट ल्हासा फर्केका छन् । ल्हासामा उनी त्यस शहरका प्रसिद्ध धार्मिक तथा पर्यटकीय धरोहरहरू जस्तै पोताला दरबार, नोर्बुलिंका मन्दिर, नोर्बुलिंका पार्क, अन्य प्रशिद्ध गुम्बा तथा मन्दिरहरूको अवलोकन गर्ने तथा तिब्बत क्षेत्रका अन्य उच्च नेताहरूसँग भेटघाट सम्पन्न भएको छ ।

अध्यक्ष ओली यहीँ श्रावण १३ गते शुक्रबार ल्हासाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ । ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य तथा चिकित्सकसहित छ सदस्य रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको चन्द्रागिरीमा २० जना सवार माइक्रो दुर्घटना, दुईको अवस्था गम्भीर

काठमाडाैं, जेठ ३१ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गानजिकै घुमाउने पसल अगाडि.....