सामान्य प्रशासनमन्त्री बस्नेतद्वारा पदभार ग्रहण

काठमाडौं, श्रावण १२ ।
सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले शपथ ग्रहणसँग पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले कर्मचारी समायोजन चुनौतीपूर्ण रहेकाले वैज्ञानिक ढङ्गले समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
“जसरी संविधान निर्माणका क्रममा हामी खट्यौँ, अब त्यसरी नै खटेर कर्मचारीको समायोजन गर्नुपर्दछ” उनले भने, “कर्मचारीलाई मर्का नपर्ने गरी समायोजन गरिनेछ ।”
उनले सरकारले खटाएको ठाउँमा कर्मचारी गएर जनताको काम सर्वसुलभ तरिकाले गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेत दोश्रो संविधानसभाको निर्वाचनमा सल्यान क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका हुन् ।
मन्त्री बस्नेतलाई मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, सहसचिव शिवराम न्यौपानेलगायत उच्च कर्मचारीले मन्त्रालयमा स्वागत गरेका थिए । वि.सं. २०२२ सल्यानमा जन्मेका बस्नेत अहिले नेकपा (माओवादी केन्द्र)को सचिवालय सदस्यसमेत रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातक गरेका मन्त्री बस्नेत वि.सं. २०५० सालमा सरकारी जागिरबाट अवकाश लिई राजनीतिमा आएका हुन् । उनले ‘नेपाली कम्युनिष्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्तावेज’ को संग्रह र ‘संविधान निर्माणमा जनसहभागिता, भाग–१’ नामक पुस्तकसमेत लेखेका छन् ।
मन्त्री बस्नेतले यसअघि वि.सं. २०७३ भाद्र २४ गतेदेखि वि.सं. ०७४ श्रावण ११ गतेसम्म माओवादी केन्द्रको संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिक्रिया