पर्यटन मन्त्री देवले पदभार ग्रहणलगत्तै मागे दुई महिनासम्मको कार्ययोजना

काठमाडौं, श्रावण १२ ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सबै क्षेत्रलाई समेट्ने पर्यटन नीतिको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
मन्त्री देवले बुधबार मन्त्रालयमा पदबहाली गर्दै संस्कृति, पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा गर्न बाँकी रहेका कामलाई पूरा गर्न कर्मचारीलाई निर्देशनसमेत दिए ।
उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रको विकासका लागि दुई महिनासम्म गर्ने कामको कार्ययोजना एक हप्ताभित्र आफूलाई दिन कर्मचारीसँग आग्रह गरे । ‘म सुरुमा दुई महिनाको कार्ययोजनाअनुसारको काम हेर्छु, राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्डित गर्छु’ उनले भने ।
मन्त्री देवले मुलुकमा कैयौं सांस्कृतिक, पर्यटकीय र ऐतिहासिक महत्व भएका स्थान हुँदाहुँदै पनि ओझेलमा परेको भन्दै यसको उपयोगका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याए । ‘सरकारी काम कहिले जाला घाम भन्ने प्रवृत्तिको अन्त्य भएमा मात्रै देशको विकास हुन्छ’ मन्त्री देवले भने ।
उनले मन्त्री र कर्मचारी ‘एक रथका दुई पाङ्ग्रा’ भएको र देशको प्रगतिका लागि मन्त्री र कर्मचारी एकसाथ रहनुपर्नेमा जोड दिएका छन् । पदबहालीका क्रममा मन्त्री देवले पर्यटन नीति तर्जुमा कार्यदल गठनसम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए ।
मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले पहिला पनि पर्यटन मन्त्रालयमा काम गरेको अनुभव मन्त्री देवसँग भएको भन्दै उनको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।
प्रतिक्रिया